ad ad

समाज


अपहरण मुद्दामा ‘डेभिड डन’माथिको अनुसन्धान सकियो, चोरेको पैसा फिर्ता लिएको बयान

अपहरण मुद्दामा ‘डेभिड डन’माथिको अनुसन्धान सकियो, चोरेको पैसा फिर्ता लिएको बयान

उजिर कार्की
मंसिर ८, २०७७ सोमबार १३:३१,

मलेसियामा नेपाली श्रमिकलाई अपहरण गरी फिरौती रकम लिएको आरोपमा पक्राउ परेका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सरकारी वकिल कार्यालयले दुर्गाबहादुरविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपहरण तथा शरीर बन्धक र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

उनीसहितका अभियुक्तविरुद्ध दाङको तुलसीपुर उपमहानगरपालिका १५ पहरुवाकी अनिता रैदासले आफ्ना श्रीमानलाई मलेसियामा अपहरण गरेर फिरौती रकम लिएको भन्दै असोज ६ गते सीआईबीमा जाहेरी दिएकी थिइन्।

दुर्गाबहादुरको कसुरमाथि प्रहरीले मलेसियामै रहेका र उनीबाट पीडित भएका १५ जनाभन्दा बढीसँग बयान लिएको थियो। उनीहरुको बयान, घटना विवरण र दुर्गाबहादुरको बयानका आधारमा उनले अपहरण गरेको निष्कर्ष निकाल्दै आवश्यक कारबाहीको लागि रायसहितको प्रतिवेदन सीआईबीले बुझाएको छ।

अपहरित मध्म रैदास पनि भागेर दूतावास पुगी नेपाल फर्किएका छन्। उनले आफूलाई डरत्रासमा पारेको, कुटपिट गरेको र फिरौती रकम नदिए चोरीको मुद्दा लगाएर मलेसियन प्रहरीलाई बुझाउने धम्की दिएको बताएका छन्।

दुर्गाबहादुरले मलेसियामा स्थानीय आपराधिक समूह र प्रहरीसँग मिलेर नेपालीहरुबाटै रकम असुल्ने, श्रम तथा यौन शोषण गर्ने र यसरी आर्जन गरेको सम्पत्तिलाई वैध बनाउन मलेसिया, भुटान र नेपालमा रेस्टुरेन्ट लगायतका व्यवसाय सञ्चालन गरेको सीआईबीको निष्कर्ष छ।

दुर्गाबहादुरले मध्म रैदासलाई अपहरण गरेपछि एउटा भिडियो बनाएर ३ वर्ष ६ महिना दैनिक रुपमा चोरी गरेको आरोप लगाएको पाइएको छ। प्रतिदिनका दरले हुन आउने एकमुष्ट रकम फिर्ता गराएको भन्दै दुर्गाबहादुरले अपहरणको आरोपबाट उम्कने प्रयास गरेका थिए। घटनापछि उनले नेपाली दूतावास र स्थानीय प्रहरीमा पीडितलाई लगेर समेत चोरेको रकम फिर्ता गरेको भनेर कागज गराएको पाइएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।

दुर्गाबहादुरका दम्पती र उनका सवारी चालक श्याम नेपाली मिलेर अपहरण तथा शरीरबन्धक र संगठित अपराध गरेको पुष्टि हुने प्रहरीको निष्कर्ष छ। फिरौती रकम माग गर्न रैदासकी श्रीमतीलाई नेपालमा पनि श्यामले नै फोन गरेका थिए।

प्रहरीसमक्ष बयानका क्रममा दुर्गाबहादुरले भारतीय नागरिक अनिश प्रधान र मलेसियन नागरिक डेभिड आनन्दको समेत संलग्नता रहेको बताएका छन्।

सीआईबीले दुर्गाबहादुरलाई बुझाएको फिरौती रकमसँगै नेपाल फर्किंदाको क्षति र रोजगारीका क्रममा भएको क्षति भराइदिन समेत राय पेस गरेको छ।

दुर्गाबहादुरबाट अन्य थुपै्र नेपाली मलेसियामा पीडित भएको र उनले गैरकानुनी रुपमा आयआर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागबाट समेत छानबिन हुनु पर्ने माग गरेको छ।

अनिताका श्रीमान् मध्म रैदास मलेसियामा दुर्गाबहादुरले सञ्चालन गरेको नेपाल कर्नर क्यान्टिनमा कुकको काम गर्थे। २०७७ असार ११ गते सञ्चालक श्रेष्ठ, उनकी श्रीमती धनमाया श्रेष्ठ, सवारी चालक श्याम नेपाली, एक भारतीय नागरिक र एक जना मलेसियन नागरिक मिलेर मध्मलाई अपहरण गरेको आरोप छ।

रेस्टुरेन्टबाटै अपहरण गरी उनलाई ६ दिन बन्धक बनाएको अनिताको जाहेरीमा उल्लेख छ। श्रीमान् अपहरणमा परेको चौथो दिन अनिताले १२ लाख रुपैयाँ दुर्गाबहादुरको बैंक खातामा जम्मा गरिदिएकी थिइन्। १६ गते उनले थप ३ लाख ९२ हजार रुपैयाँ फिरौती रकम जम्मा गरिदिएकी थिइन्। फिरौती तिरेपछि मध्म अपहरणमुक्त भएका थिए।

चोरेको रकम फिर्ता लिएको डेभिडको बयान
अपहरण गरी फिरौती लिएको आरोपमा पक्राउ परेका दुर्गाबहादुरले भने पीडितले लगाएको आरोपको इन्कारमा बयान दिएका छन्। यस्तो छ, उनको बयानः

मलेसियामा मेरो रेस्टुरेन्ट छ। जाहेरवाली अनिता रैदासको श्रीमान् मध्मबहादुर रैदास मैले मलेसियामा सञ्चालन गरेको नेपाल कर्नर क्यान्टिनमा खाना बनाउने काम गर्दै आएका थिए। निज मध्मबहादुर रैदासले मेरो क्यान्टिनबाट पैसा चोरी गरेको सीसीटीभी फुटेजबाट देखिएको, निजलाई बोलाई सोधपुछ गर्ने क्रममा काउन्टरबाट पैसा झिक्ने गरेको छैन भनी झुठ्ठा कुराहरु बोलेकोले मैले गाली गर्दै फुटेज देखाउँदा निजले आफ्नो गल्ती स्वीकार गरी दैनिक रुपमा थोरै थोरै रकम चोरी गरेको भनी बताएको थियो। पुलिस चौकीमा बुझाई दिऊँ कि रकम तिर्छस् भनी डर त्रास देखाउँदा निज मध्मबहादुर रैदासले मैले चोरी गरेको सम्पूर्ण रकम तिर्न तयार छु भनेपछि मैले तिमीले १००, १५० र २०० चोरेको होला तर तिमीले दैनिक मलेसियन रिङ्गेट ५० का दरले तिर्छौ भनी सोध्दा निजले मलाई पुलिस तिर लाने कामहरु नगर्नू म रकम तिर्न तयार छु भनेको थियो।

निजले कबुल गरे बराबरको रकम तिर्न आलटाल गरेपश्चात निजलाई मलेसिया पुलिसलाई नबुझाई काम गरी रहेको क्यान्टिनबाट २०७७ असार ११ गते स्थानीय समय साँझ ५ बजे आफ्नो नियन्त्रणमा लिई मेरो सवारी चालक श्याम नेपाली भन्ने श्याम बहादुर दमाईको जिम्मामा लगाई कोठा भित्र राखेको हो।

मेरो निर्देशनमा श्याम नेपाली भन्ने श्याम बहादुर दमाईले जाहेरवालीलाई फोन गरी रकम तुरुन्त मलेसियामा पठाई दिनु भनी डर त्रास देखाई फोनमा कुरा गरे पश्चात जाहेरवालीले मेरो नाममा सञ्चालनमा रहेको हिमालयन बैंकको खातामा पटक पटक गरी १५ लाख ९२ हजार रकम जम्मा गरी दिएको हो। मैले सो रकमबाट ३ लाख रुपैयाँ झिकी खर्च गरेको र बाँकी रकम मेरो खातामा छ।

मध्मबहादुर रैदासले मेरो क्यान्टिनमा चोरी गरेको तीन वर्ष ६ महिना अवधीमा प्रत्येक दिन मलेसियन रिङ्गिट ५० का दरले कुल ६० हजार रिङ्गिट अथवा नेपाली रुपैयाँ १७ लाख २८ हजार लिनु पर्ने हो। यसमध्ये निजले घरमा आफ्नो श्रीमतीलाई फोन गरी नेपालबाट १५ लाख ९२ हजार मेरो बैंक खातामा रकम राख्न लगाएको हो। अरु रकम लिन बाँकी नै छ।

मलेसियामा थप रकम लिएको कुरा झूठो हो। मध्मबहादुर रैदासले गरेको कागजमा खुलाईएका गाडी चलाक व्यक्ति र अनिश भन्ने मानिस मेरो रेस्टुरेन्टमा काम गर्ने स्टाफ हुन्। एचआरमा काम गर्ने व्यक्ति मलेसियन नागरिक हुन्, निजको नाम डेभिड आनन्द हो। अनिश भन्ने मानिस भारतीय नागरिक हुन्, निजको नाम अनिश प्रधान हो। मैले नै डेभिड आनन्द र अनिश प्रधानलाई निर्देशन दिई मध्मबहादुर रैदासलाई गाडीमा राखी मेरो काम्कुम रेस्टुरेण्टमा ल्याइदिनु भनेको हो।

जाहेरवाली अनिता रैदासको नेपाली मोबाईल नं ९८२९.....मा मलेसियन मोबाइल नम्बरहरुबाट नेपालमा जाहेरवालीसँग रकम माग गर्ने कार्यमा सम्पर्क भएको हो। निजको राहदानी मेरो श्रीमती धनमाया श्रेष्ठले कब्जा गरी राखेको होइन। काम गर्ने कामदारहरुले काम गर्ने ठाउँमा आफ्नो राहदानी राखी काम गर्छन्।

निजको राहदानी सोही ठाउँमा हुन सक्छ वा नवीकरण गर्न मलेसियास्थित अध्यागमनको कार्यालयमा पेस भएको हुन सक्छ। मेरो नाममा हिमालयन बैंक लि मा रहेको मौज्दात रकम १४ लाख ४७ हजार ९२१ मध्मबहादुर रैदासको श्रीमतीले जम्मा गरी दिएको रकम हो।

मेरी श्रीमती धनमाया श्रेष्ठको नाममा सनराइज बैंक लिमिटेड, न्युरोडमा मुद्दती खाता नं ०१००......मा ८० लाख रुपैयाँ श्रीमतीले काठमाडौँको बत्तीसपुतलीस्थित क्लासिक ओभरसिज मेनपावर प्रा.लि संचालनबाट भएको आम्दानी र केही रकम मलेसियामा रहेको क्यान्टिन र रेस्टुरेन्टबाट भएको आम्दानी मार्फत नेपाल पठाई जम्मा भएको रकम हो।

यो पनि:

मलेसियामा ‘डेभिड डन’बाट अपहरित रैदास भागेर आइपुगे नेपाल

बैंकमा फिरौती जम्मा गर्दा खुल्यो अपहरणको रहस्य, अनि पक्राउ परे ‘डेभिड डन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .