गत वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा हाजिर भएका एसएसपी श्यामलाल ज्ञवाली आइतबार बिदा भए।
प्रहरीमा सामान्यतः एक वर्ष नपुग्दै सरुवा हुनुलाई अर्थपूर्ण मानिन्छ। तर काठमाडौं प्रहरी प्रमुखको हकमा भने यो लागू हुँदैन। काठमाडौँमा कुनै पनि प्रहरी प्रमुख लामो समय टिक्न सक्दैनन्। बिरलैले मात्रै एक वर्ष पूरा काम गर्न पाएका छन्।
प्रहरी महानिरीक्षक शैलेश थापाले केही समयपहिले संगठन सुधार्न कार्ययोजना सार्वजनिक गरेका थिए। जसमा भनिएको थियो, ‘एक वर्ष नपुग्दै बिनाकारण कुनै पनि प्रहरी इन्चार्जको सरुवा गरिने छैन। र, एक पटक इन्चार्ज भएको व्यक्तिलाई लगत्तै इन्चार्जकै भूमिकामा लगिने छैन।’
आईजीपी थापाको कार्ययोजना पनि हावादारी दस्तावेज मात्रै भयो, लागू भएन। उनले कार्ययोजना सार्वजनिक गरेको केही महिनामा राजधानीबाटै यसको उल्लंघन सुरु भएको छ।
यससँगै काठमाडौं प्रहरी प्रमुखको एक वर्ष नपुग्दै सरुवा हुने परम्पराले निरन्तरता पाएको छ। त्यही श्रृंखला दोहोरियो श्यामलाल ज्ञवालीको हकमा पनि। गृह मन्त्रालयले ज्ञवालीलाई प्रधान कार्यालय सरुवा गरेर अशोक सिंहलाई काठमाडौं प्रहरी प्रमुख बनायो। ज्ञवालीसँगै सरुवा भएका अपराध महाशाखाका एसएसपी दीपक थापाको भने सरुवा गरिएन।
१० वर्षमा फेरिए १८ इन्चार्ज
काठमाडौं प्रहरी परिसरले १० वर्षमा १८ जना इन्चार्ज परिवर्तन गरिसकेको छ। २०६७ वैशाख १२ गते तत्कालीन एसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुख बनेका थिए। त्यही वर्षको माघ ९ गते उनलाई सरुवा गरियो।
त्यसपछि सरुवा भएर गएका पुष्कर कार्कीले त झन् ४ महिना पनि काम गर्न पाएनन्। २०६७ माघ १० गते हाजिर भएका कार्कीलाई २०६८ वैशाख ६ गते नै त्यहाँबाट सरुवा गरियो।
यही हालत रह्यो केदार रिजालको पनि। २०६८ वैशाख १७ गते काठमाडौंको इन्चार्ज भएका उनी असोज १० गते फर्किनु प¥यो। २०६८ असोज ११ गते काठमाडौं प्रहरी प्रमुख भएका राजेन्द्र श्रेष्ठ एसएसपीमा बढुवा भएपछि पनि काठमाडौंमै रहे। उनलाई त्यहाँ काजमा राखियो। २०६८ चैत २७ गते उनी एसएसपीमा बढुवा भएसँगै काठमाडौं प्रहरी प्रमुखमा एसएसपी राख्न थालियो।
श्रेष्ठले २०६९ वैशाख २२ गतेसम्म काठमाडौं इन्चार्जको रुपमा काम गरे। तत्कालीन एसएसपी जयबहादुर चन्द, रणबहादुर बम र सुवोध घिमिरे कसैले पनि एक वर्ष काम गर्न पाएनन्। एसपी हुँदा काठमाडौं प्रहरी प्रमुखका रुपमा १० महिना काम गरेका रमेश खरेल एसएसपी बनेर पनि काठमाडौं सरुवा भए। तर यस पटक पनि उनको कार्यकाल सुखद् रहेन। ५ महिनामै उनलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गरियो।
उनीपछि सरुवा भएका उत्तमकुमार कार्की र विक्रम सिंह थापा भने काठमाडौंमा टिक्न सफल भए। कार्कीले २०७१ असार ३१ गतेदेखि १५ महिना र थापाले २०७२ असोज २६ गतेदेखि १४ महिना काम गरे।
निमित्तको रुपमा तत्कालीन एसपी प्रद्युम्न कार्कीले डेढ महिना काम गरे। त्यसपछि २०७३ माघ १७ गते आएका छविलाल जोशीलाई पनि ७ महिनामै सरुवा गरियो।
रवीन्द्र धानुक ५ महिना र विश्वराज पोख्रेलले ६ महिना मात्रै काठमाडौंको प्रमुखका रुपमा काम गरे। वसन्तकुमार लामाले ९ महिना र उत्तमराज सुवेदीले एक वर्ष काम गरेका थिए। तर त्यसपछि गत वैशाखमा आएका ज्ञवालीले उही नियति भोगेर बाहिरिए।
किन टिक्दैनन्?
विभागले सामान्यतः एक वर्षमा सरुवा गर्छ। कति प्रहरीलाई अतिआवश्यक भन्दै वर्षौंसम्म एकै ठाउँमा राखिन्छ। तर काठमाडौं प्रहरी प्रमुख छिटो सरुवा हुनुको कारण प्रहरी अधिकारीहरुबीचको तीव्र प्रतिस्पर्धा हुनसक्ने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल।
‘काठमाडौंमा काम देखाउन पाइन्छ, सरुवा हुन चाहनेको संख्या धेरै भएका कारण उनीहरुकै जोडबलमा सरुवा हुन्छ,’ मल्ल भन्छन्, ‘जुन मान्छेलाई ल्याइन्छ, उसका पनि दायरा हुन्छन्, नियममा बाँधिएको हुन्छ, उसले लाएअह्राएको सबै काम गर्न सक्दैन। त्यसपछि चित्त बुझ्दैन र पनि सरुवा गरिन्छ।’
दुई पटक काठमाडौँ प्रमुख बनेका तर लामो समय काम गर्न नपाएका रमेश खरेल इन्चार्ज सरुवा भइरहनुमा दुई वटा कारण रहेको बताउँछन्।
‘पक्का पुलिसिङ गर्न खोज्यो भने पनि टिक्दैन। कानुनले गर् भनेको कुरा कडाइका साथ गराउन थाल्यो भने टिक्न गाह्रो छ। यहाँ सबै गिरोह सक्रिय छन्,’ खरेल भन्छन्, ‘अर्को काठमाडौं प्रहरी प्रमुखमा जानलाई निक्कै गाह्रो छ। प्रहरीहरु लामै जोडबल लगाएर त्यहाँ पुग्छन्। तर काम गर्न सक्दैनन्।’
कुनै पनि नयाँ ठाउँमा पुगेपछि बुझ्नका लागि ४-५ महिना लाग्ने भएकाले छिटो सरुवा गर्दा काम प्रभावित हुने प्रहरी अधिकारीहरुको अनुभव छ। त्यसमाथि यसले उनीहरुको मनोबल पनि गिराउँछ।
‘के कारणले उसलाई हटाइयो भन्ने थाहा हुन्न। कारण थाहा नपाएपछि त्यो प्रहरी हतोत्साहित हुन्छ,’ पूर्वडीआईजी मल्ल भन्छन्।
प्रतिक्रिया