न्यायपालिकाका रजिष्ट्रार , स्रेस्तेदार र तहसिलदारको पहिलो पटक यही मंसिर ८ र ९ गते राष्ट्रिय सम्मेलन हुने भएको छ।
‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन स् हाम्रो प्रतिबद्धता’ नाराका साथ हुन लागेको सम्मेलनको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा न्यायपालिकाका पाँच व्यवस्थापकीय आयाममा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ। सम्मेलनका सत्रमा उच्च अदालतका रजिष्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिष्ट्रार, स्रेस्तेदार तथा तहसिलदारको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिकाको विषयमा छलफल हुनेछ।
प्रशासकीय नेतृत्वको भूमिका र दायित्वका विषयमा देखिएका समस्या र त्यस्ता समस्याको समाधान पहिल्याउने र मार्गनिर्देशन गर्ने उद्देश्यले अदालत व्यवस्थापनको प्रभावकारिता, नेतृत्वको भूमिका र दायित्वको विषय समावेश गरिएको छ। न्यायपालिकाको सुधारका प्रयासलाई संस्थागत गर्ने उद्देश्यले गत साउन १ देखि जिल्ला अदालत र गत भदौ १ देखि उच्च अदालतमा लागू भएको फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनमा छ।
त्यसको सफल कार्यान्वयनमा उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारको भूमिका महत्वपूर्ण छ। यस्तै संहिता कानूनको कार्यान्वयनमा समेत जिल्ला र उच्च अदालतका प्रशासकीय नेतृत्वको भूमिका महत्वपूर्ण रहेकाले त्यस्ता नयाँ कानूनको कार्यान्वयनमा देखिएका समस्या निदान गरी स्पष्ट पार्ने उद्देश्यले उक्त विषय छलफलका लागि राखिएको हो।
न्यायपालिकाभित्रका सूचना प्रवाह तथा छिटो, छरितो र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन न्यायपालिकाको व्यवस्थापनमा बस्ने नेतृत्वको भूमिका महत्वपूर्ण रहने भएकाले न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिताको विषयलाई छलफलको विषय बनाइएको छ। रासस
Shares
प्रतिक्रिया