ad ad

समाज


लक्ष्मीपूजाकै दिन बिजुली पुगेपछि गाउँले हर्षित, साक्षात लक्ष्मी आएको अनुभव

लक्ष्मीपूजाकै दिन बिजुली पुगेपछि गाउँले हर्षित, साक्षात लक्ष्मी आएको अनुभव

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ९:५४,

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका-७ को विकट पहाडी क्षेत्र मैनामैनीमा गाउँमा पहिलोपटक लक्ष्मी पूजाको दिन बिजुली पुगेपछि स्थानीय गाउँले हर्षित भएका छन्।

शनिबार लक्ष्मी पूजाको दिन मैनामैनीमा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीले पहिलोपटक बिजुली बत्तीको औपचारिक उद्घाटन गरेका बेलकाका उपप्रमुख राजकुमारी चौधरीले बताए।

नेपाल सरकारको ९० प्रतिशत लगानी अर्थात् रु १२ करोड ६० लाख बजेट र बेलका नगरपालिकाको १० प्रतिशत अर्थात् एक करोड ४० लाख बजेटसहित कूल रु १४ करोडको बजेटमा पहिलोपटक विकट मैनामैनी गाउँमा बिजुली पुगेको बेलका नगरपालिकाले बताएको छ।

शनिबार मैनामैनी गाउँमा औपचारिक रुपमा बिजुलीको उद्घाटन भएपछि लक्ष्मी पूजाको दिनदेखि मेनामैनीको सूर्यचौक र मूल गाउँ गरेर दुई गाउँको सय घरभन्दा बढी परिवारहरुको घरमा बिजुली बल्न शुरु गरेको बेलका नगरपालिकाले बताएको छ। बेलकाको रामपुर र सुनसरी चतराको कनेक्सनबाट पहिलोपटक मैनामैनीमा बिजुली बत्ती विस्तार गरिएको पनि बेलका नगरपालिकाले बताएको छ।

मैनामैनीमा पहिलोपटक बिजुली पुगेपछि मेनामैनी सूर्यचौकका स्थानीयवासी बलबहादुर राई यसरी खुशी व्यक्त गर्छन्, ‘उदयपुरको कर्णाली भनेर चिनिने मैनामैनी गाउँ हिजोदेखि विकासमा पछि पर्दै आएको हो, त्यही तल रामपुर र सप्तकोशीपारि चतरा बिजुलीले झिलिमिली थियो, हामी यही नजिकै पहाडी गाउँ अँध्यारोमा बिताउँदै आएको थियौँ, ढिलै भए पनि बिजुली आयो, अब गाउँ नै उज्यालो भएकामा खुशी छौँ।’

मैनामैनी मूलगाउँकी अप्सरा राईले खुशी व्यक्त गर्दै भनिन्, ‘वारिपारि सबैतिर बिजुली बलेको भए पनि हामी गाउँलेहरु अँधेरोमा बस्न परेको थियो। नेपाल सरकार र स्थानीय सरकारको पहलमा तिहारको समयमा बिजुली आयो अब गाउँमा विकासको लहर आएको जस्तो लाग्यो, लक्ष्मीपूजाको पहिलोपटक गाउँ नै झिलिमिली भएको छ, सबै गाउँवासी हर्षित र ज्यादै खुशी भएका छौँ।’

स्थानीयवासी जीवन राईका अनुसार गाउँको सप्तकोशीपारि सुनसरी र तल बेलका रातको समयमा बिजुली बत्तीले झिलिमिली देखिने गरेको तर आफूहरु वारिपारिको झिलिमिली बत्ती हेरे अहिलेसम्म पनि मैनामैनीका जनता रातमा टुकी बालेर अन्धकारमा रात बिताउँदै आएको राई बताउँछन्। लक्ष्मी पूजाको दिन पहिलोपटक मैनामैनीमा बिजुली पुगेपछि गाउँ झलमल्ल भएकाले अब गाउँमा साक्षात लक्ष्मी भित्रिएको अनुभव भएकाले खुशीको सीमा नै नाघेको मैनामैनीका पूर्वशिक्षक खबरबहादुर राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .