ad ad

समाज


११ वर्षसम्म प्रहरीलाई फोन गरेर छोरीहरुले सोधिरहे- हाम्रो बुबाको हत्यारा कहिले पक्रिनुहुन्छ?

११ वर्षसम्म प्रहरीलाई फोन गरेर छोरीहरुले सोधिरहे- हाम्रो बुबाको हत्यारा कहिले पक्रिनुहुन्छ?

उजिर कार्की
कात्तिक २, २०७७ आइतबार १५:५५,

मकवानपुरको भीमफेदीकी गमला योन्जनले बुबाका हत्यारा पक्राउ पर्ने आशा मारिसकेकी थिइन्। उनी सोच्थिन्– ११ वर्षसम्म पनि नसमातिएकालाई प्रहरीले के खोज्ला?

बितेका ११ वर्षसम्म पटकपटक उनले प्रहरीलाई हत्याराबारे सोधिखोजी गर्न फोन गरिरहन्थिन्। तर शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट फोन आयो।

‘तपाईंका बुबाका हत्यारा पक्राउ गर्‍यौं,’ प्रहरीले भने।

गमलाका बुबा डिलबहादुर योञ्जनको हत्याका अभियुक्त भीमसेन मगर र रामकृष्ण मगरलाई सीआईबीको टोलीले भारत पुगेर ल्याएको हो।

गमलाले पहिले त विश्वास गर्न सकिनन्। शनिबार दिउँसो २ बजेतिर हेटौंडाबाट सुमो चढिन् काठमाडौं आइन्।

चार दिदीबहिनी र एक भाइ मध्यकी जेठी हुन् गमला। बुबाका हत्यारालाई कारबाही नभएसम्म सन्तानको अभिभारा पुरा गर्न नसकेको ठान्थिन् उनी। उनकी माइली बहिनी कमला काठमाडौंमै बस्छिन्। बहिनीसँग आइतबार सीआईबीको कार्यालय पुगिन् र बुबाका हत्यारालाई प्रत्यक्ष देखिन्। त्यसपछि प्रहरीप्रतिको नजर बदलियो।

आइतबार सीआईबीमा भेटिएका यी दिदीबहिनीको अनुहारमा झल्किएको खुसी प्रस्टै देखिन्थ्यो।

‘गरिबका लागि पनि यो देशमा कानुन रहेछ सर, अब हाम्रो बुबाको आत्माले शान्ति पाउँछ,’ सीआईबी प्रमुख डीआईजी सहकुल थापासँग गमलाले भनिन्, ‘जे नहुनु भइगयो, हत्यारालाई कारबाही होस् भन्ने चाहेका थियौं, अब हामीले न्याय पायौं।’

डिलबहादुरलाई काठमाडौंमा कुटपिट गरेर भागेका रामकृष्णले घरमै पुगेर गमलालाई पनि मार्ने धम्की दिएका थिए। उनीहरु भारततर्फ भागेको भोलिपल्ट मात्रै गाउँमा प्रहरी पुग्यो। त्यसपछि वर्ष बित्दै गयो, उनीहरु पक्राउ परेनन्। बरु, अभियुक्तहरु भने आफ्नो परिवारलाई नै भारत सार्न सफल भए।

आँखैअगाडि यो दृश्य देखेपछि प्रहरीप्रतिको भरोसा रहोस् पनि कसरी। यी दिदी बहिनीले न्यायका लागि ककसलाई गुहारेनन् होला! कहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, कहिले भीमफेदी प्रहरी चौकी त कहिले जिल्ला प्रहरी कार्यालय मकवानपुर धाए। यी कार्यालयमा ११ वर्षसम्म फोन गरेर उनीहरुले एउटै प्रश्न सोधिरहे, ‘हाम्रो बुबाको हत्यारा कहिले पक्राउ गर्नुहुन्छ?’

प्रहरीबाट सधैं उही रेडिमेड जस्तो जवाफ आउँथ्यो, ‘हामी लागिरहेका छौं।’

भारतमा भएका अपराधी पत्ता लगाउन प्रहरीलाई उसैपनि सहज थिएन। पक्राउ गरेर ल्याउन त झनै परको कुरा। प्रहरीसँग पनि पीडितलाई दिने अर्को जवाफ थिएन।

डीआईजी थापाले भने, ‘हामी अनुसन्धानमा लागि नै रहेका हुन्छौं, कुनै पनि अपराधीलाई उन्मुक्ति दिऊँ भन्ने हामीलाई हुँदैहुँदैन, तर कतिपय घटनामा समय लाग्छ।’

२०६६ वैशाख २८ गते गाउँकै दुई जनाले कुटपिट गरेपछि गमलाका बुबालाई अस्पताल भर्ना गरियो। बुबाको अवस्था गम्भीर रहेको खबर पुगेका बेला कुटपिटमा संलग्न दुई जना भने गमलाको घरमै पुगेका थिए। त्यतिबेला गमला सानै थिइन्।

२०६६ वैशाख ३१ गते उपचारकै क्रममा रहेका बुबाको मृत्युको खबर पुग्यो। कुटपिटमा संलग्न भीमसेन र उनकै भान्जा रामकृष्णलाई खोज्दै भीमफेदी प्रहरी चौकीबाट टोली पुग्यो।

तर भीमसेन र रामकृष्ण अघिल्लो दिन नै भागिसकेका थिए। त्यसपछि यो परिवारको प्रहरी प्रतिको विश्वास टुट्दै गएको थियो।

आशा मारिसकेको बेला अभियुक्त पक्राउ परेपछि न्यायको अनुभूति पीडित परिवारले गरेको छ।

bhimsen_and_magar_4698.jpg

काम गर्न जाउँ भन्दै गाउँबाट लगे, १८ दिनमै गरे हत्या
ललितपुरको गोदावरीस्थित इँटाभट्टामा भीमसेनले खाल्डो पुर्ने ठेक्का लिए। सोही काममा लगाउने भन्दै उनले डिलबहादुरलाई पनि काठमाडौँ लिएर आए।

डिलबहादुर र अभियुक्त मामाभान्जा सँगै बस्थे। त्यो दिन खाना बनाउने विषयमा झगडा हुँदा डिलबहादुरमाथि कुटपिट गरेको अभियुक्त मामाभान्जाको बयान छ।

तर गमला भने आफ्नो बुबालाई मार्ने नै योजनाले भीमसेनले काठमाडौं ल्याएको शंका गर्छिन्। यी दुई परिवारबीचमा पहिले पनि राम्रो सम्बन्ध थिएन। गमलाका अनुसार उनका हजुरबुबा र रामकृष्णका बुबाबीच झगडा भएको थियो।

त्यही झगडाको बदला लिन आफ्नो बुबाको हत्या गरेको गमलाको आशंका छ। डिलबहादुर उनीहरुसँग काम गर्न आएको १८ दिन मात्रै भएको थियो।

भारतमै बस्ने योजनामा थिए, प्रहरीले कठघरामा उभ्यायो
नेपालमा आफ्नै साथीको हत्या गरेर भागेका भीमसेन र रामकृष्णले गाउँ मात्रै छाडेनन्, भारत गएपछि नाम पनि बदले। केही वर्ष बसेपछि भीमसेनले भिमसेन थापा र रामकृष्णले श्यामबाबु चुनीको नाममा रासन कार्ड बनाए।

भारत पुगेको केही समयमै उनीहरुले काम गर्न थाले। उनीहरुलाई थाहा थियो, नेपाल फर्किए पक्राउ परिन्छ। त्यही भएर एक वर्षपछि परिवार नै भारत लगे।

८ वर्षसम्म गिलास बनाउने कम्पनीमा काम गरेपछि भीमसेनले ई–रिक्सा किने। रामकृष्ण भने प्लास्टिकको झोला बनाउने कारखानामा काम गर्थे। उनले जग्गा पनि किने।

सीआईबी प्रमुख भएपछि डीआईजी सहकुल थापाले भने पुराना फाइल खोतल्न थालेका थिए। त्यही क्रममा यो मुद्दा उनको हातमा पर्‍यो। उनले यसअघि समेत भारतमा लुकेका अभियुक्तविरुद्ध सफल अप्रेसन गरेका डीएसपी अनिल घिमिरेलाई यो फाइल थमाए र पुनः अनुसन्धान सुरु भयो।

डीएसपी घिमिरेको टोलीले भारत पुगेर यो मुद्दा सल्ट्यायो। प्रहरीले जमुनाह नाकाबाट उनीहरुलाई पक्राउ गरेको बताएपनि केही दिनपहिले नै सीआईबीको टोली दिल्ली पुगेको स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .