ad ad

समाज


गण्डकीमा कोरोना ग्राफ बढ्दो : थोरै परीक्षण, धेरैमा संक्रमण

गण्डकीमा कोरोना ग्राफ बढ्दो : थोरै परीक्षण, धेरैमा संक्रमण

वाशुदेव मिश्र
असोज २७, २०७७ मंगलबार १३:५२,

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बितेको २४ घण्टामा ४३६ जनाको पीसीआर परीक्षण गरियो। परीक्षण गरिएकामध्ये १२९ जनामा संक्रमण देखियो।

यो भनेको करिब ३०.४२ प्रतिशत हो। स्वास्थ्य निर्देशनालयको तथ्यले नै प्रदेशमा संक्रमणको दर बढ्दै गएको पुष्टि गर्छ। जबकि बितेको २४ घण्टामा संक्रमितमध्ये १३० जना निको भएर घर फर्केका छन्।

गण्डकीमा हालसम्म ३८ हजार १२ जनाको पीसीआर परीक्षण गरिएको र तीमध्ये ५ हजार १०० जनामा संक्रमण देखिएको छ। प्रदेशमा कोरोनाबाट ४० जनाले ज्यान गुमाएका छन्। 

कुल संक्रमितको दर ६७.६३ प्रतिशत रहे पनि पछिल्लो समय बढेको संक्रमणले त्यो दर घट्ने देखिएको छ। गण्डकीमा मात्रै १६११ जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये प्रदेश राजधानीसमेत रहेको पोखराका सबैभन्दा बढी अर्थात् ६३३ जना कोरोनासँग जुधिरहेका छन्।

मंगलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार कास्कीमा ५२ जना संक्रमित भए। लमजुङमा २९ तथा तनहुँमा २८ जना संक्रमित हुँदा स्याङ्जामा १७ जनामा कोरोना देखियो। पर्वतमा २ जना र मनाङ १ जनामा पनि संक्रमण देखियो।

संक्रमणको दर बढ्दै गर्दा पुरुषहरु बढी संक्रमित भएको मात्रै पाइएको छैन सबैभन्दा सक्रिय उमेर अर्थात् २० देखि ५० वर्ष उमेर समूहमा यसले आक्रमण गरिरहेको छ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकीमा २० देखि ३० वर्ष उमेर समूहका ४४ जना, ३० देखि ४० का ३० जना तथा ४० देखि ५० वर्ष उमेर समूहका २८ जनामा संक्रमण देखिएको छ। संक्रमण बढेपछि कास्कीलाई स्वास्थ्य निर्देशनालयले खतराको सूचिमा राखेको छ।

पर्वतमा वडाध्यक्षलाई संक्रमण
पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ। उनमा कोरोनाको लक्षण भने देखिएको छैन। मल्ल कास्कीको पोखरामा रहेको चरक अस्पतालको आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

कोरोना रोकथामका लागि व्यक्तिगत रूपमासमेत लाखौँ खर्च गरेर कोरोना रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर खट्दै आएका थिए। उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको कोषाध्यक्ष समेत हुन्।

तनहुँमा विद्यालय बन्द
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खुलेका विद्यालय फेरि बन्द भएका छन्। मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन्।

नगरपालिकामा सञ्चालित विद्यालयले असोज १ गतेबाट वैकल्पिक सिकाई सहजीकरण थालेको एक महिना नपुग्दै बन्द गर्ने निर्णय गरिएको हो। चैत दोस्रो साता बन्द भएका विद्यालय ६ महिनापछि खुलेर पढ्न पाउँदा विद्यार्थी मख्ख थिए।

गाउँमा थारै विद्यार्थी भएका विद्यालयले कक्षामै बोलाएर पढाइरहेका थिए। बजार क्षेत्रका ठूला विद्यालयले सहजीरकणका लागि गाउँ टोलमा सिकाई केन्द्र स्थापना गरेका थिए।

प्रविधिको पहुँचमा भएकालाई भने अनलाइनमार्फत् पढाइएको छ। समुदायस्तरमा कोरोना संक्रमणदर बढेकाले विद्यालय बन्द गर्नुपरेको नगरप्रवक्ता खिमबहादुर कुमालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .