जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ११ फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका–१ का चामबहादुर थापा पक्राउ परेका छन्। उच्च अदालत पाटनले विसं २०७६ माघ १७ गतेको थापालाई रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो।
त्यस्तै सवारी ज्यान मुद्दामा भएको फैसलामध्ये आठ दिन कैद र रु दुई हजार जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्दाका एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ। विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ। रासस
प्रतिक्रिया