ad ad

समाज


पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न अभियुक्त १३ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न अभियुक्त १३ वर्षपछि पक्राउ

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १२:२१,

पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

 उनी सहितका ५ जनाले २०६४ असोज १८ गते बाराको पिप्रा, बसन्तपुरबाट  पत्रकार वीरेन्द्र साहलाई अपहरण गरी लगेर गोली हानी हत्या गरेका थिए।

कुर्मीसहित कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले पत्रकार साहलाई अपरहण गरी गोली हानी हत्या गरेका थिए। प्रहरीले साबिक डुमरवाना गाविस ७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा साहको शव २०६४ कात्तिक २२ गते फेला परेको थियो।

कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेका कुर्मी हालसम्म फरार रहेका थिए।

पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मीलाई प्रहरीले कोल्हवी नगरपालिका–४, सपही टोलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा राखेको थियो। कुर्मीलाई आवश्यक अनुसन्धान प्रकृया पुर्याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा संलग्न बारा साबिक ईनर्वासिरा गाविस–९ बस्ने प्रतिवादी मनेजरख गिरीलाई २०६५ असोज १९ गते र साबिक खोपवा गाविस–८ बस्ने प्रतिवादी राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धानपश्चात अदालतमा पेश गरिएकोमा उनीहरूलाई सर्वस्वसहित जन्म कैद फैसला भएको थियो।

यसैगरी बारा साबिक गडहल गाविस–५ बस्ने कुन्दन कुमार फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ गरी जिल्ला अदालत बारामा पेश गरिएकोमा फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .