ad ad

समाज


नेपालकाे नजिक आयो न्यून चापीय रेखा, धेरै स्थानमा भारी वर्षाको सम्भावना

नेपालकाे नजिक आयो न्यून चापीय रेखा, धेरै स्थानमा भारी वर्षाको सम्भावना

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ०:५७,

मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक भएको छ। जसले गर्दा आज (मंगलबार) धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले अहिले (बिहान) पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

उनका अनुासर यसअघि राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

यस्तै आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्।

यसैगरी दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यो भनेको यी हरेक प्रदेशका थोरै-थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना हो।

‘मनसुन अन्तिम अवस्थातिर पुगेकाले भारी वर्षा पनि पहिलेजस्तो एकोहोरो धेरै नै ठूलो हुने सम्भावना देखिन्न,’ मौसमविद् पोखरेलले भनिन्, ‘जस्तो अहिले काठमाडौं उपत्यकामा घाम लागिरहेको छ। यस्तै हो, वर्षा पनि हुन्छ र बेलाबेला कतै–कतै घाम पनि देखिन सक्‍छ।’

माैसमविद् पाेखरेलका अनुसार मनसुनकाे न्यून चापीय रेखा साेमबार बेलुकादेखि पूर्वतर्फबाट नेपालकाे नजिक भएकाे हाे। अहिले याे मध्य भूभागसम्म फैलिसेककेकाे छ भने बिस्तारै पश्चिमतिर पनि फैलिने क्रममा छ। 

यसैकाे प्रभावले अब कम्तीमा ३ दिन देशमा अलि धेरै स्थानमा वर्षा हुने सम्भावना बढेको हो। 

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार दिउँसाे देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै-थाेरै स्थान तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै त्यस दिन राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

यस्तै बिहीबार दिउँसाे देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

सँगसँगै गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थाेरै-थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुई ठाउँमा भने भारी वर्षाको समेत सम्भावना छ।

यस्तै त्यस दिन राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .