ad ad

छापा खबर


महाधिवेशन सार्दै कांग्रेस

महाधिवेशन सार्दै कांग्रेस

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ०:४१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ।

यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय त केन्द्रीय समितिले गर्छ तर सर्छ,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने।

उनले सभापतिलाई काम नै गर्न नदिने गरी केही नेताहरू अघि बढेकाले समेत समयमा महाधिवेशन हुने अवस्था टर्दै गएको जनाए। ‘सभापतिलाई केही काम नै गर्न नदिने, जे गरे पनि विरोध गर्ने, जिल्ला सभापतिहरूलाई सदस्यताको फाराम नै लैजान नदिने अनि महाधिवेशन भएन भनेर सभापतिलाई मात्रै दोष दिएर होला?’ नेता विश्वकर्माले भने।

कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको छ।

कांग्रेसले पछिल्लोपटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .