ad ad

समाज


पाटन अस्पतालमा बिरामी नभेटिएपछि खुल्यो पाकिस्तानीको ठगी धन्दा

पाटन अस्पतालमा बिरामी नभेटिएपछि खुल्यो पाकिस्तानीको ठगी धन्दा

उजिर कार्की
भदौ २, २०७७ मंगलबार १३:४७,

गोरखाका रामचन्द्र मेहता ललितपुरको पाटन अस्पतालमा बिरामी कुरिरहेका थिए। आफन्तको सन्तान समय नपुगी जन्मिएपछि उनीहरुको अस्पताल बसाइ लम्बियो।

त्यही क्रममा अस्पतालको कुरुवा कोठामा पाकिस्तानी नागरिक अहमद वारलेससँग चिनजान भयो। वारलेसले पनि आफ्नो बच्चा र श्रीमती बिरामी भएकाले अस्पताल बसिरहेको बताए। श्रीमतीको भेन्टिलेटरमा र बच्चाको नर्सरीमा उपचार भइरहेको बताए।

अस्पतालको कुरुवा कोठामा केही दिन सँगै बसिसकेपछि अहमदले उपचार खर्च नपुगेको भन्दै रामचन्द्रसँग पैसा मागे। अहमदले भनेका थिए, ‘घरबाट पैसा आउँदैछ, अहिले मसँग अस्पताललाई तत्कालै तिर्ने पैसा भएन, सापटी दिनुहोस् केही दिनमा फिर्ता गर्छु।’

२०७७ असार ६ गतेदेखि रामचन्द्रले ती पाकिस्तानीलाई रकम दिन थाले। साउन ३ गतेसम्ममा उनले ४ लाख रुपैयाँ बुझाइसकेका थिए। नेपाली सेनामा कार्यरत उनले जति पैसा दिन्थे, उता पाकिस्तानी भने छोरा र श्रीमतीको दुवैको अवस्था बिग्रँदै गएको बताउँथे।

अस्पतालमा आफ्नो बिरामी नभएपनि उनी घरघरी बिरामी भएको ठाउँमा पुगेको नाटक गर्थे। नर्सरीमा उपचार गराइरहेका अरुका बच्चालाई देखाउँथे। रामचन्द्र पत्याउँथे। तर एक महिना बढी हुँदा पनि ती पाकिस्तानीले रकम फिर्ता गरेनन्। बहाना बनाउँदै टार्न थाले।

साउन २० गते रामचन्द्रले अहमदलाई आफ्नो बिरामी देखाउन भने। तर, नर्सरीका बच्चा त्यो दिन अस्पतालले अन्यत्र सारिसकेको थियो। यो कुरा अहमदलाई थाहा थिएन। त्यसैले रामचन्द्रलाई बिरामी देखाउन भनेर अहमद त्यहाँ पुग्दा बच्चा नै थिएन। उनको झुट खुल्यो।

होटलमा ५५ हजार नतिरी फरार
अहमदबाट ठगिएका रामचन्द्र एक्ला होइनन्। त्यसअघि नै मंगलबजारका विकास शाक्य ठगीमा परिसकेका थिए। २०७६ कात्तिक १३ गते ललितपुरको महापा स्थित डी पाटन गेस्टहाउसमा पुगे अहमद।

केही समय गेस्टहाउसमा बस्ने बताएका अहमदले ५ हजार २ सय २० रुपैयाँ एड्भान्स दिए। त्यसपछि गेस्टहाउसको कोठा नं १०४ मा बस्न थाले। २०७६ मंसिर ३० गते बाहिर निस्किएका अहमद बेलुका फर्किएनन्।

होटलमा उनको ५५ हजार ३ सय ८९ रुपैयाँ बिल उठेको थियो। त्यसअघि माग्दा पैसा आउँछ अनि दिन्छु भन्दै टारेका अहमद होटलको बिल नतिरि हिँडे। विकासले अहमद नफर्किएपछि फोन गरे, तर सम्पर्क हुन सकेन। त्यसपछि उनले थाहा पाए ठगिएको।

रामचन्द्रले जाहेरी दिएकै दिन साउन २० गते अहमदलाई प्रहरी परिसर ललितपुरले अस्पताल परिसरबाटै पक्राउ गर्‍यो।

पहिले आफू ठगीए, अनि अरुलाई ठग्न थाले
ललितपुर प्रहरी परिसरले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। बयानका क्रममा अहमदले पहिले आफू ठगिएको बताएका छन्। अस्पतालमा रामचन्द्रबाहेक अरुसँग पनि आफूले सहयोग भन्दै रकम लिएको उनले बताएका छन्। थोरै रकम ठगिएका अरु कुरुवाले भने उनीविरुद्ध जाहेरी दिएका छैनन्।

अहमद सन् २०१० देखि नै नेपाल आएको पाइएको छ। आउने जाने गरिरहेका अहमदसँग नेपालस्थित पाकिस्तानी दूतावासका कागजात समेत पाइएको छ। प्रहरी परिसर ललितपुरले ती कागजातको आधिकारिकता पुष्टि गर्न दूतावासमा पत्र पठाएको परिसर श्रोतले नेपालखबरलाई जानकारी दियो।

यस्तै उनीसँग दुई वटा पासपोर्ट नम्बर फेला परेका छन्। प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको छ।

सन् २०१० मा फर्निचर कम्पनीको ब्रान्डिङका लागि नेपाल आएका अहमद पटक पटक आउजाउ गरेको पाइएको छ। नेपालमा फर्निचरको व्यापार गरेका उनले त्यस वापतको रकम समेत हुन्डी गरेर पठाउने गरेको बयान दिएका छन्।

उनले अपरिचित नेपाली मार्फत हुन्डीमा पठाएको र पछि तिनै व्यक्तिले ३७ लाख ७५ हजार रुपैयाँ ठगी गरेर फरार भएको बयान दिएका छन्। अझै केही रकम नेपालमा उठाउन बाँकी रहेको समेत उनको बयान छ।

हुन्डी कारोबार गर्ने नेपालीले पछि उनलाई अर्कै व्यक्तिको नामको १८ लाख रुपैयाँको चेक दिएको पाइएको छ। प्रहरीले त्यो चेकको आधिकारिकताबारे पनि अनुसन्धान गरिरहेको छ।

उक्त चेक साट्ने समय बाँकी नै रहेपनि खातामा रकम नभएको पाइएको प्रहरीको भनाइ छ। पछिल्लो पटक उनी दुई वर्ष पहिले नेपाल आएका थिए। सन् २०१८ जुन ३० मा भिसाको म्याद सकिएपनि उनी नेपालमै बसेको पाइएको छ।

उनले नेपाली युवतीको मायाजालमा फसेर नेपाल बसेको बताएका छन्। त्यही क्रममा आफूसँग भएको रकम सकिएको र पछि पाकिस्तान फर्किने पैसा आफूसँग नभएको उनले बताएका छन्।

नेपाली युवतीसँगको सम्बन्धका कारण समयमा पाकिस्तान नफर्किंदा परिवारसँग समेत सम्बन्ध बिग्रिएको उनको भनाइ छ। आफू खर्चविहीन भएपछि नेपाली युवतीले पनि छाडेको उनले बताएका छन्।

त्यसअघि उनले काठमाडौंमा समेत केही व्यक्तिलाई ठगेको पाइएको छ। उनीविरुद्ध दरबारमार्ग वृत्त र महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुर मुद्दा दर्ता भएको छ। केही व्यक्तिलाई रकम नभएको खाताको चेक दिएर ठगी गरेको पाइएको छ।

यो मुद्दामा समेत उनीविरुद्ध अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .