ad ad

समाज


भीआईपी नै कोरोना संक्रमणको जोखिममा

भीआईपी नै कोरोना संक्रमणको जोखिममा

सागर न्यौपाने
साउन २२, २०७७ बिहिबार १२:४७,

कोरोनाको संक्रमितको संख्या बढ्दै गएसँगै पछिल्लो समय उच्चपदस्थ व्यक्तिहरुमा पनि संक्रमणको जोखिम बढेको छ। नेता, प्रहरीका उच्च अधिकारी, सेना, सरकारी कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्री र सांसदहरु संक्रमितको ‘क्लोज कन्ट्याक्ट’ मा देखिएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भयो।

साउन १७ गते प्रधानमन्त्री ओली सहभागी भएको छलफलमा यादव पनि उपस्थित थिए। सो छलफलमा पाँच वटा प्रदेशका मन्त्रीहरुसहित १७ जना थिए।

यादवले संघीय मन्त्रीहरुलाई सिंहदरबार पुगेर भेटेका थिए भने प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग पनि भेट गरेका थिए।

मन्त्री यादवले साउन २१ गते परीक्षण गराएका थिए। यादवमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली, संघीय मन्त्रीहरुको परीक्षण भए नभएको सार्वजनिक गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठेको छ।

बिहीबार नै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण देखियो। बुधबार गरिएको परीक्षणमा प्रचण्डको परिवारका कसैमा संक्रमण नभएको बताइएको छ।

प्रचण्ड नेकपाभित्रको विवाद समाधानको लागि दैनिक थुप्रै भेला, छलफलमा सहभागी हुने गर्छन्।

उनको सुरक्षामा तैनाथ प्रहरीमा संक्रमण देखिएसँगै त्यसले संक्रमणको जोखिम थप बढेको देखाएको छ।

बिहीबार नै संसद सचिवालयका एक उच्च अधिकारीमा समेत संक्रमण देखियो। ती कर्मचारीलाई कहाँबाट कोरोना सरेको हो, प्रष्ट हुन सकेको छैन। तर, उनलाई संक्रमण देखिएसँगै सिंहदरबारभित्र समेत संक्रमण भुसको आगो झैँ फैलिएको हुनसक्ने विज्ञहरुले आकलन गरेका छन्।

सरकारले चैत ११ गतेदेखि १ सय २० दिन लकडाउन गरेको थियो। वैशाख ३० गते सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलका निजी सुरक्षाकर्मीलाई कोरोना पुष्टि भयो। ती प्रहरी बिरामी विदामा रहेकाले रावलसँग थिएनन्।

त्यसको एक महिनापछि असार ३० गते कर्णाली प्रदेशका सांसद तथा विपक्षी दलका नेता राजबहादुर शाहीलाई संक्रमण भएको पुष्टि भयो।

साउन १७ गते संघीय संसद् प्रतिनिधिसभाका सांसद प्रदीप यादवले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे।

साउन ७ गते लकडाउन खोलेयता संक्रमण झनै बढेको छ।

‘लकडाउन खुलेसँगै मानिसहरुको भीड बढ्यो, संक्रमणको जोखिम रहेका जिल्लाबाट मानिसहरु ह्वात्तै काठमाडौं आए, हामीले व्यवस्थापन गर्न सकेनौं,’ टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, ‘हामी व्यवस्थित भएनौँ र सुरक्षाको विधि अपनाएनाँै भने अब कोरोना घरघर पुग्छ।’

प्रदेश २ को पर्सा कोरोना संक्रमणको हटस्पट बनेको छ। पर्सामा अहिलेसम्म १४ संक्रमितको मृत्यु भइसकेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

देशभरका प्रहरीहरुमध्ये ३ सय २५ जनालाई संक्रमण भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।

यतिमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ३७ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ। मंगलबार १५ जनामा संक्रमण देखिएपछि गरेको कन्ट्याक्ट ट्रेसिङमा थप २२ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रहरी, सांसद, प्रदेशमन्त्री लगायतमा संक्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा पनि यसले भयावह रुप लिने खतरा रहेको विज्ञहरु बताउँछन्।

डा. बाँस्तोलाले सुरुवाती दिनमा भारतबाट आउने नेपालीलाई संक्रमण देखिएको र अब उपत्यका लगायत देशैभर विस्तारै बढ्ने बताए।

‘पहाडको तुलनामा तराईमा संक्रमण केही समय बढ्छ,’ नेपालखबरसँग डा. बाँस्तोलाले भने, ‘काठमाडौंमा फ्रन्टलाइनमा काम गर्ने प्रहरीमा देखियो, सरकारी कर्मचारीमा देखिन थाल्यो, संक्रमणको ट्रेन्ड रोक्न नयाँ रणनीति बनाउन आवश्यक छ।’

संक्रमितको संख्या बढ्सँगै मृत्यु हुने संख्या समेत बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर ६५ जनाको कोरोनाको कारण मृत्यु भएको छ।

‘भीडमा जानेहरुबाट जोगिने र दीर्घरोगीलाई संक्रमण हुनबाट जोगायौं भने मृत्युदर घट्छ, त्यसलाई ख्याल नगरे एकपटक ठूलो समस्या पर्नसक्छ,’ डा. बाँस्तोलाले भने।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमण तत्काल रोक्न नसके सम्हाल्न कठिन हुनसक्ने चेतावनी दिए।

‘संगठित संस्था प्रहरी, सेना, स्वास्थ्यकर्मी र उद्योगमा काम गर्ने मजदुरमा कोरोना प्रवेश गरेको छ यसले अब जोखिम थप बढायो,’ उनले भने, ‘अब हामी जोखिम अबस्थामा पुग्यौं, काठमाडौं जस्तो ठूलो जनसंख्या भएको ठाउँमा दैनिक संख्या बढ्न थालेको छ, यसलाई रोक्न सकेनौं भने सम्हाल्न कठिन हुन्छ।’

तर, सरकारको तयारीको स्तर लाजमर्दो रहेको डा. पाण्डेले बताए। सरकारले संख्या देखाउन मात्र परीक्षण गरेको तर, जहाँ जोखिम छ, त्यहाँ परीक्षण नगरेको उनको भनाइ छ।

‘सरकारले परीक्षणको लागि मात्रै गरेको छ, जहाँ जोखिम छ, त्यहाँ गरेको छैन,’ उनले भने, ‘काठमाडौंमा संक्रमित राख्ने एउटै क्वारेन्टिन छैन यो लाजमर्दो हो। आधारभूत तयारी समेत नगरी हात बाँधेर बस्ने सरकारले संक्रमण कसरी रोक्छ?’

आइसोलेसनको दुर्दशा देखेर संक्रमितहरु सम्पर्कमै आउनको छाडेको उनले बताए।

‘आइसोलेसन नै राम्रो छैन, सुविधा सम्पन्न आइसोलेसन नभएकै कारण संक्रमित सम्पर्कमा आउन छोडेको हुन्’, उनी भन्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .