मोरङको रंगेली नगरपालिका सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ।
एकै परिवारका १४ जनासहित नगरपालिकाभित्र २२ जनामा कोरोना पुष्टि भएपछि नगर क्षेत्र अनिश्चित कालका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार संक्रमितहरु धेरै जनाको सम्पर्कमा भएका कारण नगर क्षेत्र सिल गरिएको हो।
‘एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना देखिएको सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्र सिल गरिएको छ’, नेपालखबरसँग कुरा गर्दै सुवेदीले भने।
१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला (छोरी)भारतबाट आएको र उनकैकारण संक्रमण फैलिएको् हुनसक्ने उनले अनुमान गरे।
बुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन्। पछि ती बृद्धको मृत्यु भएको र उनको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने।
‘संक्रमितहरु धेरै जनाको सम्पर्कमा आएका कारण उहाँहरुको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरी परीक्षण भइरहेको छ’, सुवेदीले भने, ‘उहाँहरुको रिपोर्ट आएपछि कति समय सिल गर्ने भन्नेबारेमा फेरि छलफल गर्नेछौँ।’
प्रतिक्रिया