ad ad

समाज


गण्डकी सरकारलाई हङकङबासीबाट स्वास्थ्य सामग्री सहयोग

गण्डकी सरकारलाई हङकङबासीबाट स्वास्थ्य सामग्री सहयोग

वाशुदेव मिश्र
साउन १८, २०७७ आइतबार १४:५८,

हङकङमा कार्यरत नेपालीहरुले गण्डकी प्रदेश सरकारलाई १३ लाख ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कोरोना संक्रमणसँग जुध्न सहयोग पुर्याउने उद्देश्यले कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङको पहलमा २५० थान ज्वरो नाप्ने उपकरण, ६ हजार थान सर्जिकल मास्क, ५ हजार थान पञ्जा र १५० थान पीपीई सेट गण्डकी सरकारलाई दिइएको हो।

सोमबार आयोजित कार्यक्रममा सहयोग समितिका तर्फबाट संयोजक विरोधविक्रम गुरुङ, शंकर गुरुङ, शशी गुरुङ, अमृत गुरुङ र चन्द्र गुरुङले ती सामानहरु गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे।

समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष विरोधविक्रमका अनुसार हङकङमा बस्ने नेपालीहरुबाट संकलित रकमबाट ती सामग्री खरिद गरिएको हो। सहयोग स्वीकार्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका क्वारेण्टिनहरु खाली हुँदै गए पनि विदेशबाट आउने उपक्रम नरोकिएको र असावधानीका कारण संक्रमण नरोकिएको बताए।

उनका अनुसार गण्डकीमा भारतबाट नागरिक आउने क्रम घटे पनि तेस्रो मुलुकबाट आउने क्रम भने जारी छ। तेस्रो मुलुकबाट आएकाहरुमा संक्रमण दर बढी भएको उनले बताए। उनका अनुसार पहिला विदेशबाट आउनेहरुलाई नेपाली सेनाले प्रदेशको होल्डिङ सेण्टरसम्म ल्याउँथ्यो भने अहिले आफ्नै सुरमा आउन थालेपछि व्यक्तिको पहिचानमा समस्या देखिएको छ।

उनले गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको जिकिर पनि गरे।

‘हामीले आफैँलाई नम्बर एक भन्न त नमिल्ला तर अन्य प्रदेशको भन्दा हामीले राम्रो गर्यौंँ भन्ने लाग्छ’, उनले भने,‘यहाँ कोरानाका गम्भीर बिरामी छैनन्, जसको मृत्यु भयो, उनीहरुमा पनि अर्कै रोगको समस्या देखियो।’

उनले प्रदेश सरकारले परीक्षणको दर बढाएको जिकिर पनि गरे। प्रदेश स्वास्थ्य निर्देशनालयको पीसीआर मेसिनमा समस्या आउँदा र पालिकाहरुले आफैँ किट किनेर स्वाब पठाएको बेला परीक्षणमा समस्या देखिए पनि अहिले कुनै समस्या नभएको उनको भनाई थियो।

सोही कार्यक्रममा लमजुङको क्होंलासोथर गाउँपालिकालाई पनि स्वास्थ्य सामग्री दिइयो। हङकङमा बस्दै आएका दीलिप गुरुङले आफ्नो व्यक्तिगत खर्चमा गाउँपालिकालाई स्वास्थ्य सामग्री दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .