निर्मला बलात्कार तथा हत्या काण्ड अनुसन्धानमा संलग्न भएर मुद्दा खेपेका ८ प्रहरीले बिहीबार सफाइ पाए। जसमा कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी अंगुर जीसी समेत छन्।
दुई वर्षअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तकोे बलात्कारपछि हत्या भएको थियो। निर्मला हत्याकाण्डमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरमा एसपी विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिहीवार दुवै मुद्दामा प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो।
अदालतबाट सफाइ पाएपछि एसपी दिल्लीराज विष्टले छोटो प्रतिक्रिया दिए। उनलाई सरकारले बर्खास्त गरेको छ। पुनर्बहाली गर्ने बाटो खुल्ला भएपनि निश्चित छैन। अदालतको फैसलापछि नेपालखबरसँग विष्टले भने, ‘प्रमाण नष्ट गर्यो, यातना दियो भन्नेबाट मुक्ति पाइयो। बाँकी भनेको निर्मलाले न्याय पाउनुपर्छ। अहिले मेरो व्यक्तिगत विषयमा प्रतिक्रिया जनाउँदिनँ। फैसला सकरात्मक छ।’
निलम्बनमा परेका तत्कालीन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसीले न्याय पाएको बताए। उनी पनि निलम्बनमा परेको २२ महिना भयो। मुद्दा अदालतमा पुगेको १७ महिनापछि अदालतले उनलाई निर्दोष घोषित गर्यो। फैसलापछि नेपालखबरसँग डीएसपी अंगुर जीसीले यस्तो प्रतिक्रिया दिएः
२२ महिना बढी भयो निलम्बनमा परेको। मुद्दा अदालतमा पुगेको पनि १७ महिना भइसकेको थियो। लामो समयको पर्खाइपछि आज न्याय पाएको अनुभव भएको छ। अरुलाई मुद्दा लगाएर कठघरामा उभ्याउने जागिर खाएको मान्छेले आफैं कठघरामा पर्दाखेरीको अनुभव त बयान गरेर साध्यै छैन। जे भए पनि यो कानुनी राज्य हो, कानुन मर्दैन। कानुनमा विश्वास छ। आज अदालतले हाम्रो पक्षमा जुन फैसला गरेको छ, त्यसबाट म खुसी छु।
यतिबेला मैले आफ्नो अभिभावक अर्थात् प्रहरी संगठनलाई सम्झेँ। मलाई मेरो अभिभावक ठिक भएन भन्ने लाग्छ। मेरो सर्वस्व भनेको नै संगठन हो। हामीले त अभिभावकले अह्राएको काम गर्ने न हो। मलाई संगठनले विश्वास पनि गरेको हो। मैले पहिले गरेका कामको आधारमा संगठनले मलाई विश्वास गरेको होला। सीआईबीमा रहँदा महत्वपूर्ण मुद्दाको अनुसन्धान गरेँ र त्यसमा सफल पनि भएँ। त्यसैलाई हेरेर मलाई संगठनले यो जिम्मेवारी दिएको थियो।
कञ्चनपुरमा शवको अन्त्येष्टि गर्नसक्ने अवस्था थिएन। तीन दिनसम्म लास नजलेको अवस्था छ, सीआईबी जानु पर्यो भन्ने कुरा आयो। साधारणतया सई, इन्सपेक्टर जानु पर्नेमा म जघन्य पिलरको इन्चार्ज आफैं गएको थिएँ। संगठनले यो घटनालाई प्राथमिकता दिएको थियो र ममाथि विश्वास पनि गरेको थियो।
मैले आफूले जे जस्तो जानेँ, मेरो बुद्धि, विवेक प्रयोग गरेर क्षमताले भ्याएसम्म मैले काम गरेँ। मैले गरेको कामको रिपोर्टिङ मैले च्यानलमा गरेको छु। जसरी आदेश भएको छ, त्यही अनुसारले मैले काम गरेँ।
मैले आफ्नो कर्तव्यपालनाको सिलसिलामा काम गर्दागर्दै पनि विभिन्न अफवाह फैलाउने काम भयो। त्यही अफवाहको भरमा संगठनले मलाई कारबाही गर्नु ठिक थिएन। मेरो पनि कुरा सुन्न पर्थ्यो। संगठनले अविभावकत्व लिनु पर्थ्यो, त्यो लिएन। व्यक्तिगत रुपमा मैले मुद्दा खेप्न पर्यो। त्यो मुद्दा पनि नेपाल सरकारले लग्यो। संगठनले नै जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा मेरो विरुद्ध मुद्दा दर्ता गर्यो।
निर्मला बलात्कार–हत्या घटनाको मुचुल्का प्रहरीले साउन ११ गते नै गरिसकेको थियो। सीआईबीको टोली १३ गते मात्रै कञ्चनपुर पुगेको थियो। तर, मलाई प्रमाण नष्ट गरेको आरोप लगाइएको थियो। मैले लाससम्म पनि देखिनँ, पोस्टमार्टमको रिपोर्ट देखेको हो, घटनास्थलको फोटो हेरेर अनुसन्धान गरेको हुँ। मैले प्रमाण नष्ट गर्ने भन्ने सवाल नै थिएन। तर संगठनले झुटो आरोप लगाएर मुद्दा दर्ता गर्यो। उजुरी आइसकेपछि दर्ता गर्नुपर्छ। तर उसले अनुसन्धान गर्नु पर्थ्यो। अभियोग पुष्टि गर्नुपर्थ्यो। प्रमाण नष्ट गर्न मेरो भूमिका के थियो, त्यो कुरा प्रमाणित गर्न सक्नु पर्थ्यो।
प्रस्तावित रायसहित सरकारी वकिलकोमा जाने र सरकारी वकिलको कार्यालयले अभियोजन गर्ने हो। अन्यसँगै मेरो पनि नाम मुछेर संगठनले सरकारले मलाई लग्यो अगाडि। अदालतसम्म पुर्यायो। अदालतमा मैले १७ महिनासम्म प्रतीक्षा गर्नु पर्यो। त्यसक्रममा २५/३० पटक म काठमाडौं र कन्चनपुर आउजाउ गर्नुपर्यो। अहिले पनि १० दिनदेखि म महेन्द्रनगरमा छु।
संगठन नै आफ्नो विरुद्धमा लाग्दा बुबा गुमाएजस्तो भयो। सामाजिक रुपमा पनि मलाई क्षति भयो। अंगुर जीसी भनेको मान्छे त बदमासै रहेछ भन्ने पर्यो सबैलाई। यसैले रहेछ त्यहाँ प्रमाण नष्ट गरेको र यसैले मुद्दा बर्बाद बनाएको रहेछ जस्तो बनाइयो। निर्मलाको बलात्कार र हत्या गर्ने मान्छे को हो थाहा भएन उनीहरुलाई, तर मुख्य अभियुक्त नै हामी हौं जस्तो बनाइयो। मेरो छोराले सोध्दा मैले के उत्तर दिन्थें होला? मेरै फोटोसहित टेलिभिजनमा बजिरहेको हुन्थ्यो, पत्रपत्रिकामा मेरै फोटोसहित समाचार छापिन्थ्यो। उसले समाचार पढ्न सक्थ्यो। मलाई सोधेको भए मैले के जवाफ दिन्थें होला ?
आफूलाई त कठोर बनाउन कोसिस गरेँ मैले। तर घरको मान्छेले बेहोर्नुपरेको पीडाको त मूल्य नै छैन। क्षतिपूर्ति हुनै सक्दैन, यसको क्षतिपूर्ति कसैले दिनै सक्दैन। अभियोग लागेको थियो, त्यो होइन भनेर अदालतले सफाइ त दियो। तर मैले भयानक क्षति बेहोरेँ। आर्थिक रुपमा, वकिल लगाउनु पर्यो। मानसिक क्षति बेहोरेँ। करिअर ड्यामेज भयो। तालिम पाउँथेँ होला, अरु अवसर पाउँथेँ होला। पुरस्कार पाउँथेँ होला। यस्तो अवस्थामा जेल जीवन जस्तो बिताउनु अत्यन्तै पीडादायी थियो।
म अहिले निलम्बनको अवस्थामा छु। अदालतको फैसलासँगै अब स्वभाविक रुपमा ममाथिको निलम्बन फुकुवा होला। मैले अदालतको फैसलाको प्रति लगेपछि हेडक्वार्टरले गृह मन्त्रालयलाई लेख्ला। गृह मन्त्रालयले निलम्बन फुकाउला र म पुनः काममा फर्कौंला। अनि मलाई संगठनले जहाँ खटाउँछ त्यहीँ जानु पर्यो, होइन भने मैले जागिर छाड्नु पर्छ। संगठनले तँ अनुसन्धानमै राम्रो छस्, अनुसन्धान गर् भन्यो भने म त्यही गर्छु। कमान्ड गर भन्यो भने मैले त्यही राम्रो गर्छु। म यो संगठनमा छउन्जेल संगठनको नीति नियमअनुसार अह्राएको, खटाएको ठाउँमा जतिसक्दो राम्रो गर्छु। व्यावसायिक रुपमा चुक्दै चुक्दिनँ।
याे पनि:निर्मला हत्याकाण्ड : अदालतले प्रहरीलाई सफाइ दिने यी हुन् आधार
निर्मला हत्याकाण्डमा मुद्दा लागेका ८ प्रहरीलाई जिल्ला अदालतबाट सफाइ
प्रतिक्रिया