ad ad

समाज


‘उपत्यकाका संक्रमितमध्ये धेरै बाहिरबाट आएका’

‘उपत्यकाका संक्रमितमध्ये धेरै बाहिरबाट आएका’

यज्ञराज जोशी
असार १२, २०७७ शुक्रबार १२:२५,

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ। स्वास्थ्य मन्त्रालयले भने तीमध्ये अधिकांश उपत्यकाबाहिरबाट आएका बताएको छ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबारसम्म उपत्यकाका तीन जिल्लामा ३९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा सबैभन्दा बढी काठमाडौंका ३० जना, ललितपुरका ५ र भक्तपुरका ४ जना छन्।

तर, देशभर संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्ने(कन्ट्याक्ट ट्रेसिङ) गर्ने जिम्मेवारी पाएको इपिडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने बिहीबारसम्म उपत्यकामा ५० जनामा संक्रमण देखिएको जनाएको छ।

‘३३ जना पुरुष र १७ जना महिलामा हालसम्म उपत्यकामा संक्रमण देखिएको छ। यो तथ्यांक यहीँ स्थायी ठेगाना भएका तथा काठमाडौंमा काम गर्नेहरुको पनि हो,’ महाशाखाका सर्भिलेन्स शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज श्रेष्ठले भने।

कन्ट्याक्ट ट्रेसिङका क्रममा अधिकांश संक्रमितहरु बाहिरबाट आएको पाइएको श्रेष्ठले बताए। बिहीबारमात्रै काठमाडौं र भक्तपुरका ४–४ जना र ललितपुरका १ जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

उनीहरु एक जना डोल्पाबाट, एक जना नेपालगन्जबाट, तीन जना भारतबाट र एक जना मालदिभ्सबाट आएको महाशाखाको भनाइ छ।

‘अधिकांश उपत्यकाबाहिरबाट आएका तथा केही विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकालाई संक्रमण देखिएको छ,’ श्रेष्ठले भने, ‘भारत, तेस्रो मुलुक र देशका अन्य भागबाट आएका बढी संक्रमित उपत्यकामा छन्।’

महाशाखाका अनुसार हालसम्म उपत्यकामा भारतबाट आएका ५ जनासहित कुवेत, माल्दिभ्स, बेल्जियम, चीन, बेलायतलगायत देशबाट आएकाहरुमा संक्रमण भेटिइसकेको छ।

खतरा कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं उपत्यकाको अवस्थालाई खतरनाक भन्न नमिल्ने बताउँछ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले धेरैजसो बाहिरबाट आएका र उनीहरुको सम्पर्कमै रहेकाहरुलाई कोरोना देखिएको बताए।

‘ट्राभल हिस्ट्री नदेखिएकाहरु बाहिरबाट आएकाका सम्पर्कमा रहेकाहरु हुन्,’ गौतमले भने, ‘संसारभरी नै खतरा छ। हामीपनि डेन्जर जोनमा छौं। तर, अहिलेपनि उपत्यकामा आयातित केसहरुमात्रै हुन्।’

मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै बाहिरबाट आएकाहरु, कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएकाहरु र लक्षण देखिएकाहरुलाई मात्रै परीक्षण गरिरहेको छ। परीक्षणको दायरा साँघुरो भएकै कारण वास्तविक तथ्यांक नआएको संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्।

‘जहाँ पनि जति संख्यामा पुष्टि भए, त्यो भन्दा बढी संक्रमित छन भन्ने देखिएको छ,’ उनले भने, ‘यहाँ मान्छेको मृत्यु नै भइसक्यो। त्यसबाट पनि धेरैजनामा संक्रमण छ भन्ने आकलन गर्न सकिन्छ। हाम्रो परीक्षणको दायरा साँघुरो छ। त्यही भएर कम संक्रमित देखिए होलान्। टेस्टको दायरा नबढाउँदासम्म संक्रमितबारे अनुमान लाउन सकिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .