ad ad

समाज


भाइबरमा आयो ८० लाख र १० तोला सुन परेको म्यासेज, अनि बुझाए २० लाख (अडियाे)

भाइबरमा आयो ८० लाख र १० तोला सुन परेको म्यासेज, अनि बुझाए २० लाख (अडियाे)

उजिर कार्की
असार ११, २०७७ बिहिबार १६:२,

‘तपाईलाई अमेरिकाको कल सेन्टरबाट म्यासेज गरिएको छ। तपाइँको भाइबर नम्बरमा ५० लाख भारु(८० लाख नेपाली रुपैयाँ) र १० तोला सुन उपहारमा परेको छ।’

केही दिनदेखि विभिन्न व्यक्तिलाई भाइबरमा यस्तो म्यासेज पुग्यो। केहीले फेसबुकमै यस्तो म्यासेज भेटे।

म्यासेजमा लेखिएकाे थियाे, ‘५ देशका भाइबर नम्बर समावेश गरिएकोमा नेपालबाट तपाइँले उपहार जित्नु भएको छ। नेपाल, भारत, अमेरिका, भुटान, दुवई समावेश गरिएको थियो।

हरेक देशका ५०/५० भाइबर नम्बर छानिएको थियो। जसमा तपाईले उक्त पुरस्कार जित्न सफल हुनु भएको हो। तपाई र तपाईको परिवारलाई धेरै धेरै बधाई छ। अब तपाईले भारतको एसबीआई बैंकको धर्मेन्द्र प्रताव सिंहसँग कुरा गर्नुहोस्। उहाँले तपाइँलाई पुरस्कारको नम्बर दिनुहुनेछ। तपाईको पुरस्कारको नम्बर हो ००५२६। अब तपाईले धर्मेन्द्रको ह्वाट्सएप नम्बर दिन्छु त्यो नोट गर्नुहोस् ००९१९९७११३०४१० यो उनको नम्बर हो। यो नम्बरमा उनलाई ह्वाट्सएपमा कुरा गर्नुहोस्।’

यस्ताे म्यासेज पाउनेले ती म्यासेज पठाउने व्यक्तिसँग कुरा गर्न थाले, केहीले यही म्यासेजलाई विश्वास गरेर रकम जम्मा गरिदिए। आफू ठगिएको पत्तै पाएनन्।

यसरी ठगिनेमा सर्वसाधारण मात्रै छैनन्, प्रहरी अपराध महाशाखाका अनुसार एक जना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सहसचिव समेत छन्। नास्टकी महिला सहसचिव जसको मोबाइलमा यस्तै म्यासेज गयो। उनले तत्कालै ६० हजार रुपैयाँ जम्मा गरिदिइन्।

अर्की एक युवतीले फेसबुकमा म्यासेज आएपछि ६५ हजार बुझाइन्। बर्दिया ठाकुरद्वार ९ का एक युवाको इमोमा २५ लाखको चिट्ठा परेको म्यासेज पुग्यो। तर उपहार लिनका लागि कर बापतको रकम पहिले जम्मा गर्नुपर्ने सर्त थियो। रकम प्राप्त गर्नका लागि नागरिकता मागे, फोटो समेत उनले पठाए।

ग्लोबल आइएमई बैंकको कार्ड बनाउनु पर्ने भएपछि त्यो पनि गरे। उनले भनेका थिए पुकार बर्मा, नवीन भण्डारी, ईसु मिया लगायत व्यक्तिको नाममा रकम जम्मा गरिदिनुस्।  ती युवाले पटक पटक गरेर २० लाख ४६ हजार ६०० रुपैयाँ जम्मा गरे।

तर उनीसँग थप रकम मागियो। त्यसपछि भने उनले ठगिएको आशंका गरे। ती थारु युवाले महानगरीय अपराध महाशाखामा जाहेरी दिए। बुटवलबाट पनि यस्तै प्रकारको उजुरी परेको भन्दै महाशाखामा खबर आयो।

त्यसपछि महाशाखाको टोली खटियो। पुकार बर्मा, नवीन भण्डारी, आकाश अग्रवाल, एस अग्रवाल, एमडी सर्फराजलाई आइतबार दिउँसो काठमाडौंको टेकु तथा स्वयम्भुको छाउनीबाट पक्राउ गरियो।

प्रहरीले उनीहरुको साथबाट ८५ हजार रुपैयाँ, मोवाइल, विभिन्न परिचय पत्र, बैंकका भौचरहरु फेला पार्यो।

महाशाखाका प्रमुख दीपक थापाका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी ठगीका घटना बढेका छन्। फेसबुकमा जलिस्को इलेक्ट्रिक स्टोर नामक अनलाईन पेजले सामसुङ कम्पनीको ए५१ मोडेल भएको मोबाईल अनलाइन मार्फत किनेबेचको कारोबार गर्न सकिने भनि विज्ञापन राख्यो।

भण्डारी थरकी युवतीले मोबाइल किन्ने बताइन्। त्यसपछि उनले मोवाइल नम्बर मागेर कुरा गरिन्। जिवन कुमार यादवको नविल बैंकको खाता नम्वर ०५४१००१७५०३०२३ मा रकम जम्मा गर्नु भनेकोले पटक पटक गरी उनले ६५ हजार रुपैयाँ जम्मा गरिन्।

तर उनलाई ती व्यक्तिले मोबाइल पठाइदिएनन्। त्यसपछि भण्डारी निवेदन लिएर महाशाखा पुगिन्। उनीहरु उही समूहका रहेछन्, जसले नास्टकी महिला कर्मचारीलाई भाइबरमा म्यासेज पठाएका थिए।

प्रहरीले खोज्दै गयो र कृष्ण प्रसाद साह, सुनिल कुमार साह लगायतको संलग्नता खुल्यो। उनीहरुलाई गत शनिबार प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धानका लागि महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ। महाशाखा प्रमुख थापा भन्छन्, ‘सामाजिक सञ्जालको भर नपर्नुहोस् नचिनेका मान्छेले फसाउन सक्छन्।’

अहिलेसम्म यी व्यक्तिहरुले करोडौं ठगेको महाशाखाले जनाएको छ।

अडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .