ad ad

समाज


रुकुम हत्याकाण्डः किशोरीको परिवारले स्वीकार्‍यो अपराध, प्रहरीसँग दिए यस्तो बयान

रुकुम हत्याकाण्डः किशोरीको परिवारले स्वीकार्‍यो अपराध, प्रहरीसँग दिए यस्तो बयान

उजिर कार्की
असार १, २०७७ सोमबार १४:१३,

रुकुम पश्चिमको चौरजहारी, सोतीमा ६ जनाको हत्या आरोपमा पक्राउ परेकाहरुले प्रहरीसँगको बयानमा अपराध स्वीकार गरेका छन्। मृतक नवराज विककी प्रेमिका भनिएकी किशोरी, उनका बुबाआमा र दाइले दिएको बयानका आधारमा भेरी नदीमा ६ जनाको हत्या गरिएको पुष्टि हुने प्रहरीले बताएको छ।

किशोरीकी आमा प्रकाशी मल्लले आफूले नवराजसहित अन्यलाई गालीगलौज गर्दै लखेटेको स्वीकार गरेकी छन्। त्यसपछि उनीहरु फर्केर गएको र किशोरीका बुबा वीरबहादुर र वडाध्यक्ष डम्बरबहादुर मल्लले उनीहरुलाई मार्ने योजना बनाएको प्रकाशी मल्लको बयानमा उल्लेख छ।

घरबाट उनीहरुलाई लखेटेपछि औल जिउला भन्ने स्थानमा गाउँलेहरुको समूहले फेला पारेको छेकेर ढुंगा, हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्‍याएको र भेरी नदीमा बगाएको उनको बयान छ।

पछिल्लो समय नवराज र आफ्नी छोरीबीच सम्बन्धमा खटपट आएको र भतिजीसँग छोरीलाई जसरी पनि लैजान्छु भनेको र उनीमार्फत नै १० गते आउँदै गरेको थाहा पाएको प्रकाशीले बयानमा बताएकी छन्।

नवराजसहितको टोली घरमा आएपछि आफूले कराएको र श्रीमान्लाई फोन गरेर जानकारी गराएको उनको भनाइ छ। उनले फोन गरेपछि वीरबहादुर र डम्बरबहादुरले गाउँलेलाई बोलाएका थिए।

युवतीकी आमाले उनीहरुलाई निगरानी गरिरहेकी थिइन्। पछि गाउँलेहरुले उनीहरुलाई घेरामा पारिसकेका थिए। त्यसपछि आफू घर फर्किएको र पछि नवराज समेत ६ जनालाई मारेर भेरी नदीमा बगाएको थाहा पाएको बयान दिएकी छन्।

युवतीका बुबाले पनि ती युवाहरुको हत्या गरिएको स्वीकार गरेका छन्। उनले बयानका क्रममा भनेका छन्, ‘श्रीमतीले फोन गरेपछि वडाध्यक्षसँग सल्लाह गरें, उहाँले त्यसो भए सम्झाउँदा लागेनछ, आज तह लागाउनुपर्छ भन्नुभयो। त्यसपछि ढुंगा, लाठी हान्दै लखेटेका हौं। भेरी नदी किनारमा पुर्‍याएपछि केहीलाई नियन्त्रणमा लिए, केही नदीमा पुर्‍याएर मारे।’

किशोरीले नवराजसँग २०७५ फागुनमा फेसबुकमा साथी भएपछि कुरा सुरु भएको बताएकी छन्। चिनजान हुँदै गएपछि दुई पटक नवराजको घरमा समेत गएको र बसेको स्वीकार गरेकी छन्।

२०७६ साल पुस १४ गते खंलगामा रमाइलो मेला हेरेर फर्किंदा र पुषमै फेरि साथीको भाइको जन्मदिनमा जाँदा नवराजको घरमा बसेको उनको भनाइ छ।

नवराजले विवाह गरौं भने पनि आफूले उमेर सानै भएकाले तत्काल बिहे गर्न अस्वीकार गर्दै आएको उनले बताएकी छन्।

पछि नवराज दुई पटक साथीसँग घरमा आएको उनले बताएकी छन्।

‘त्यतिबेला पनि बुबाआमाले सम्झाएर पठाउनु भएको थियो, फेरि वैशाख १७ गते राति ८÷९ बजे २ जना साथीहरुसँग आएको बेला वडाध्यक्ष लगायत केही मिलेर प्रहरीको जिम्मा लगाएका थिए,’ उनको बयानमा उल्लेख छ।

उनकै कारण परिवारमा समेत झगडा हुन थालेपछि फेसबुकमा आफूले नवरालाई ब्लक गरेको र कुरा गर्न पनि छाडेको उनले बताएकी छन्। नवराज आफूलाई लिन आउँदै गरेको पनि आमा मार्फत थाहा पाएको उनको भनाइ छ।

‘बहिनी नाता पर्नेसँग लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेको रहेछ। बहिनीले मेरो आमालाई भनेकी रहिछ, जेठ १÷२ गतेतिर आमाले मलाई भनेपछि मात्रै थाहा पाएको थिएँ,’ उनले भनेकी छन्।

उनले आफू घटनास्थलमा नगएको र दिउँसो के के भयो थाहा नपाएको बताएकी छन्। राति उनीहरुलाई लखेट्नेहरुले घरमा आएर आमासँग कुरा गरेपछि दुईजना भेरी नदीमा बगेको सुनेको बताएकी छन्।

नवराजको मृत्यु भएको भोलिपल्ट फेसबुकमा साथीहरुसँग कुरा भएपछि मात्रै थाहा पाएको उनले बताएकी छन्।

युवतीका दाइले मोटरसाइकलमा गएर लखेटेको र लाठी, ढुंगाले हानेर मारेर भेरी नदीको भंगालोमा फालिदिएको बयान दिएका छन्।

मैले कुटिनँ, कसले मार्‍यो थाहा भएन : वडाध्यक्ष
घटना भएको वडाका अध्यक्ष डम्बरबहादुर मल्लले भने घटनामा आफ्नो संलग्नता नभएको बयान दिएका छन्। उनले प्रहरीलाई दिएको बयानमा आफूले कुटपिट नगरेको र कसले मार्‍यो भन्ने पनि थाहा नभएको बताएका छन्।

आफू वडा कार्यालयनजिकै क्वारेन्टिन व्यवस्थापनमा खटिइरहेका बेला फोन आएको र आफूलाई फोन आएको १०÷१५ मिनेट पछि इलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरेर उनीहरुलाई नियन्त्रणमा लिन भनेको बताएका छन्।

आफूले गाउँलेलाई कति जना केटाहरु छन् गन्ती गर्न र निगरानी गरिराख्न मात्रै भनेको मल्लको बयान छ। उनले घटनास्थलमा प्रहरीलाई बोलाएको र नियन्त्रणमा लिएकाहरुलाई जिम्मा लगाएको दाबी गरेका छन्।

अरु भने जाजरकोटका युवाहरुलाई लेखेट्दै अगाडि गइसकेको र त्यहाँ नियन्त्रणमा लिएका ७ जनालाई प्रहरीको जिम्मा लगाइदिएको उनको भनाइ छ।

घाइते कार्कीको बयान : प्रहरी नआएको भए हामीलाई पनि मारेर फाल्थे
नवराजसँगै सोती गएका महेश कार्कीले प्रहरी आइपुगेपछि मात्रै गाउँलेले आफूहरुलाई कुटपिट गर्न छाडेको बताएका छन्। उनलाई सुरुमा गाउँलेले नियन्त्रणमा लिएका थिए।

युवतीको घरमा पुगेलगत्तै आफूहरुलाई गालीगलौज गरिएको, आफूहरुले काफल खान आएको बताउँदा पनि गाली गर्न नछाडेपछि फर्किएको उनको भनाइ छ।

तर युवतीको घर पुग्नुभन्दा तल ढुंगाखानीमै केही मानिसले नवराजलाई चिनेपछि उनीहरुले फोन गरेर आफूहरुमाथि आक्रमण गर्ने योजना बनाएको उनले बताएका छन्।

‘फर्किएर अलि पर पुगेपछि सोही गाउँका मानबहादुर मल्लले ‘बस, पानी खाएर जाऊ’ भनी भुलाउन धेरै कर गर्नुभयो। तर हामी ‘नाइँ अंकल बस्दैनौँ’ भनेर कहीँ नबसी गाउँको तल मध्यपहाडी लोकमार्ग पुग्यौँ। त्यहाँ ठूलो ढुंगामा थकाइ मार्दै थियौँ, माथिबाट रोक् रोक् भन्दै ठूलो संख्यामा आएका उनीहरुले ढुंगामुढा गर्न थाले,’ उनको बयानमा उल्लेख छ, ‘पछि हामी ज्यान बचाउन मध्य पहाडी लोकमार्गको बाटो हुँदै कालेगाउँ जाजरकोट जाने पुलतिर दौडिरहेका थियौं, तर हामीभन्दा अगाडि मोटरसाइकलमा आएर कालेगाउँ तर्फ जाने बाटो छेकी घेरा हालिसकेका रहेछन्।’

उनले बयानमा थपेका छन्, ‘हात हातमा लाठी, हसिया र ढुंगा समेतले प्रहार गर्दै लखेट्न थालेपछि मलाई सोही सडकमा प्रतिवादीहरु डम्बरबहादुर मल्ल, मान बहादुरमल्ल र लिपेन्द्रकुमार मल्ल समेतका व्यक्तिहरुले समाई लाठी ढुंगा समेतले कुटपिट गरी मेरो ढाड, हात र खुट्टामा चोट पुर्‍याइ घाइते बनाए र नियन्त्रणमा लिए। अन्य साथीहरुलाई थुप्रै व्यक्तिहरुले लखेट्दै ढुंगा, मुढा समेतले अन्धाधुन्ध प्रहार गर्दै भेरी नदीको बीच बगरमा पुर्‍याई कुटपिट गरिरहेका थिए। नदीको बीच बगरमा रहेका साथीहरु बचाऊ बचाऊ भन्दै चिच्याउदै रोइकराइ गरिरहेका थिए, केही समय पछि प्रहरी आएपछि मात्र हामीलाई कुटपिट गर्न छोडेका हुन्।’

हातहतियारले अन्धाधुन्ध प्रहार गर्दै लखेटीलखेटी भेरी नदीको जंघारमा पुर्‍याइ नदीमा बगाइ कुटपिट समेत गरी मारेको उनको बयान छ।

प्रहरी नआएको भए बाँचेका १२ जनालाई समेत कुटपिट गरी मारेर भेरी नदीमा बगाउने उनको भनाइ छ। उनले घटनामा संलग्नलाई कडा कारबाही गर्न आफूसहित घाइतेको उपचार खर्च दिलाइदिन माग गरेका छन्।

२१ जनाविरुद्ध जन्मकैद माग
जिल्ला सरकारी वकिल कार्यालयले २१ जनाविरुद्ध जन्मकैद सजायको माग गरेको छ। ३४ जनालाई प्रतिवादी बनाएर आइतबार अभियोगपत्र अदालतमा दर्ता गरिएको छ। तीमध्ये डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, विराज पुनमगर, सविन पुन र अन्य फरार विरुद्ध जन्मकैदको सजाय माग गरिएको छ।

उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुतको मुद्दा पनि लगाइएको छ।

इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दीपेन्द्र चन्द, रमित पुन मगर, नवीनकुमार जीएमलाई भने ज्यान मार्ने उद्योगमा सजाय मागदावी गरिएको छ।

उनीहरुमाथि घटनाको मुख्य आरोपीलाई सहयोग गरेको र घटनाबारे थाहा पाएर पनि सम्बन्धित निकायलाई खबर नगरेको अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .