ad ad

समाज


एसईई परीक्षा रद्द हुँदा विद्यार्थीका यस्ता प्रतिक्रिया

एसईई परीक्षा रद्द हुँदा विद्यार्थीका यस्ता प्रतिक्रिया

यज्ञराज जोशी
जेठ २९, २०७७ बिहिबार ११:४४,

माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेकी काठमाडौं चन्द्रागिरीकी रेश्मा गिरीले भविष्यमा डाक्टर बन्ने सपना साचेकी थिइन्।

डाक्टरी पढाई महँगो रहेको बुझेकी उनले एसईईमा राम्रो नतिजा ल्याउदै उच्च शिक्षामा छात्रवृत्तिको बाटो खोल्ने योजना बनाएकी थिइन्।

त्यही योजना अनुरुप छोरीको पढाई राम्रो होस् भनेर अभिभावकले उनलाई होस्टल राखिदिएका थिए। तर, उनको योजना विपरित सरकारले एसईई नै नलिने निर्णय गरेपछि उनी दुःखी छन्।

‘राम्रो नतिजा आए छात्रवृत्तिमा सहयोग पुग्ला भनेर म होस्टलमा बसेकी थिएँ। राम्रो भन्दा राम्रो नतिजा ल्याउन अधिक मेहनत गरिरहेकी थिएँ,’ गिरीले नेपालखबरसँग भनिन्, ‘लकडाउनका बाबजुद एसईई हुन्छ भन्ने मलाई लागेको थियो। तर, एक्कासी परीक्षा नै रद्द हुँदा म निकै दुःखी छु।’

बुधबार बसेको मन्त्रीपरिषद्को निर्णयले लकडाउनका कारण रोकिएको एसईई परीक्षा रद्द गर्ने निर्णय गरेपछि विधार्थीहरुले मिश्रित प्रतिक्रिया दिएका छन।

केहीले कोरोनाका कारण मनोवैज्ञानिक असर परेका विधार्थीलाई राहत भएको बताए भने केहीले राम्रो तयारी गरेता पनि परीक्षा नै नहुँदा आफ्नो मेहनत खेर गएकोमा दुःख लागेको बताएका छन्।

पर्वतको मोदी गाउँपालिका, तिलाहारस्थित नव जागृत उच्च माध्यामिक विद्यालयकी छात्रा रञ्जिता केसीले पनि एसईई रद्द हुँदा दुःख लागेको प्रतिक्रिया दिइन्। उनले आफूले राम्रो नतिजाका लागि तयारी गरे पनि क्षमता देखाउन नपाइएको बताइन्।

'मैले राम्रो तयारी गरेकी थिएँ। एसईईमा राम्रो नतिजा ल्याई आफ्नो क्षमता देखाउँछु भन्ने ठानेकी थिएँ। तर, एसईई नै रद्द हुँदा मलाई ठिक लागेन,’ उनले भनिन्।

यता बाणीविलास माध्यामिक विद्यालय ललितपुर चापागाउँमा अध्ययनरत विशाल अधिकारीले भने एसईई रद्द गर्ने सरकारको निर्णय उचित लागेको बताए। उनले सरकारले परीक्षा रद्द गरेसँगै हजारौं विधार्थीहरुको अन्यौल हटेको बताए।

‘हामीले सबै तयारी गरिसकेका बेला अन्तिम समयमा परीक्षा रोकिदा दुख लागेको थियो,’ विशालले भने, ‘लकडाउन लम्बिदै जादा परीक्षा होला कि नहोला भनेर दोधारमा थियौं। कोरोनाले पनि तनाव बनाएको थियो। अहिले सरकारले आन्तरिक परिक्षाबाट नतिजा निकाल्ने भनेपछि तनाव हटेको छ।’

उनले आन्तरिक परिक्षाकै आधारमा नतिजा आउने कुरामा पनि समर्थन जनाए। आफ्नै स्कुलमा विधार्थीले राम्रो आत्मविश्वासका साथ परीक्षा दिने भएकाले उक्त निर्णय ठिक लागेको उनले बताए।

कपिलवस्तुका सन्तोष भुसाल पनि चैत्र ६ गतेदेखि तोकिएको एसईईको पूर्ण तयारीमा थिए। तीन महिना होस्टल बसेर पढेका उनलाई अहिलेको परिस्थितिमा एसईई रद्द हुनु ठीक लागेपनि आन्तरिक परीक्षाको आधारमा मार्कसिट दिने कुरा चित्त बुझेको छैन।

‘दिनप्रतिदिन कोरोनाका बिरामीहरु बढिरहेका बेला परीक्षा रद्द गर्नु ठीक हो तर आन्तरिक परीक्षाका आधारमा मार्कसिट दिने कुरा उचित भएन,’ भुसालले नेपालखबरसँग भने, ‘किनभने आन्तरिक परीक्षामा धेरै विधार्थीले आफ्नो उत्कृष्ट पनि दिएका हुँदैनन भने शिक्षकले पनि कडाईका साथ कापी जाँचेका हुँदैनन।’

उनले आन्तरिक परीक्षामा केही शिक्षकहरुले विधार्थीलाई नम्बर दिने क्रममा पूर्वाग्रह राख्ने गरेको पनि गुनासो गरे।

‘अहिले स्कुलहरुले नम्बर पठाउने भनिएको छ। त्यसो हुँदा स्कुलले प्रि–बोर्ड टपरहरुलाई बढी नम्बर पठाउने निश्चित छ,’ उनले भने, ‘त्यसले प्रि–बोर्डपछि एसईईमा राम्रो नम्बर ल्याउछु भनेर तयारी गरेकाहरुलाई अन्याय हुनेछ।’

यदि विधार्थीले कुनै विषयमा परीक्षा दिन चाहे त्यसको व्यवस्था गरिदिए उत्तम हुने उनले इच्छा व्यक्त गरे।

सकरात्मक निर्णयः शिक्षाविद्
शिक्षाविद् डा.मनप्रसाद वाग्लेले सरकारको एसईई नगर्ने निर्णयलाई सकरात्मक रुपमा लिएको बताए। उनले सरकारी निर्णयलाई बैधता दिन शिक्षा ऐन संशोधन गर्नुपर्ने र ऐन संशोधन गर्दा अब एसईई विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था लागु गर्नुपर्ने बताए।

‘एसईई परिक्षा नगर्ने सरकारको निर्णयलाई सकरात्मक रुपमा लिएका छौं। यसले ५ लाख विधार्थी, १० लाख अभिभावक, ३ लाख शिक्षकहरुलाई मानसिक तनावबाट मुक्त गरिदिएको छ,’ डा. वाग्लेले भने, ‘सरकारको निर्णयलाई बैधता दिन ऐन संशोधन गर्नुपर्छ। अब ऐनमा परिवर्तन गर्दा एसईई जस्ता परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउनु पर्ने व्यवस्था मिलाउनु पर्छ।’

शिक्षा ऐन २०२८ को नवौं र १०औं संशोधनमा कक्षा–१० को परीक्षा प्रदेश सरकारले लिने र कक्षा–१२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने उल्लेख छ।

शिक्षाविद वाग्लेका अनुसार ऐनले प्रत्येक विधार्थीको ३–३ महिनामा परीक्षा लिनुपर्ने व्यवस्था भए बमोजिम विधार्थीले तीनवटा परीक्षा दिइसकेको र त्यही परिक्षाको नतिजा विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउने र बोर्डले त्यही अंकका आधारमा ग्रेडसिट बनाएर विधार्थीलाई उपलब्ध गराउन सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .