ad ad

समाज


रुकुम घटनाः पीडितको जाहेरीभन्दा थप व्यक्ति छानबिनमा तानिँदै

रुकुम घटनाः पीडितको जाहेरीभन्दा थप व्यक्ति छानबिनमा तानिँदै

नेपालखबर
जेठ २१, २०७७ बुधबार १५:२०,

रुकुम पश्चिममा ६ युवाको ज्यान जाने गरी भएको घटनामा थप व्यक्ति अनुसन्धानमा तानिने भएका छन्। अनुसन्धानका क्रममा पीडितले किटानी जाहेरी दिएभन्दा थप व्यक्ति संलग्न पाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार अहिलेसम्म थप १२ जना तानिने देखिएको छ। पीडितले २० जनाविरुद्ध जाहेरी दिएका थिए। तर बुधबारसम्मको बयानमा ३२ जना संलग्न रहेको पाइएको प्रहरी श्रोतले नेपालखबरलाई बतायो।

‘बयान जारी छ, बयानका आधारमा संलग्नहरु थपिँदैछन्, जाहेरीमा उल्लेख भएभन्दा थप १२ जनाको नाम पोलिसकेका छन्, आवश्यकता अनुसार पक्राउ गर्दै अनुसन्धान गर्छौं’, ति अधिकारीले भने।

अहिलेसम्म घटना भएको चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष, युवती, उनका बुवाआमा लगायत १८ जना पक्राउ परेका छन्। उनीहरुलाई १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। दुई जना भने फरार भएका छन्।

घटना अनुसन्धानमा केन्द्रीय प्रहरी टोलीदेखि केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खटिएको छ। तर घटना भएको ११ दिन बितिसक्दा समेत रुकुम प्रहरीले पोष्टमार्टम रिपोर्ट पाइसकेको छैन। मंगलबार मात्रै गोविन्द शाहीको शव फेला परेको थियो। उनको बुधबार पोष्टमार्टम गरिएको छ। यसअघि अरु ५ जनाको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको थियो।

गृह मन्त्रालयले बनाएको छानविन समिति र मानव अधिकार आयोगको टोली पनि घटनास्थलमा पुगेको छ। घटनामा १२ जनामाथि कुटपीट भएको थियो। जाजरकोट प्रहरीले उनीहरुसँग पनि बयान लिएको छ।

घटना भएदेखिनै विभिन्न टिप्पणी भइरहेका छन् भने घटनामा अन्तर्राष्ट्रिय समुदायको समेत चासो देखिएको छ। तर बाहिर आएका टिप्पणी जस्तो घटनाको वास्तविकता नरहेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताएका छन्।

रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यममा आएका कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको उनले बताए पछि अनुसन्धानमा थप चासो थपिएको छ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै महान्यायाधिवक्ता खरेलले भने, ‘अहिले मिडियामा जे कुरा आइराखेका छन् अनुसन्धानमा त्यो देखिएको छैन। अहिले जे लेखिराखिएको छ अनुसन्धान प्रमाणले त्यो कुरा पुष्टि गर्ने वाला छैन।’

खरेलले अनुसन्धान र अभियोजनमा कुनैपनि खालको प्रभाव पर्न नदिने प्रतिवद्धता पनि जनाएका छन्।

जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली विवाहका लागि जेठ १० गते साँझ रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको थिए। त्यसक्रममा उनीहरुमाथी गाउँलेले आक्रमण गरेको बताइएको छ।

आक्रमणका क्रममा उनीहरु नदीमा हामफाले वा मारेर नदीमा फालियो भन्ने अनुसन्धान भइरहेको छ। घटनामा भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा, टीकाराम सुनार, लोकेन्द्र सुनार र सन्दीप विकको शव नदीमा फेला परेको थियो।

याे पनि: ईयूद्वारा रुकुम हत्याकाण्डको भर्त्सना

रुकुम घटनामा वेपत्ता शाहीको शव घटनास्थलभन्दा ३५ किलोमिटर तल भेटियाे

रुकुम घटना : पोष्टमार्टम रिपोर्टले भन्यो- पाँचै युवाको मृत्यु कुटपिटबाट

रुकुम हत्याकाण्ड : स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .