अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टालीले दुई लाख रुपैयाँ घुससहित ताप्लेजुङका दुईजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मंगलबार साँझ दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना अख्तियारमा पुगेको थियो। सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक/एक लाख घुस लिएको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।
उनीहरु दुबै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बुढाले बताए। अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो।
प्रतिक्रिया