ad ad

समाज


आजदेखि कञ्चनपुरमा लकडाउन खुकुलो, तीन घण्टा बजार खुला

आजदेखि कञ्चनपुरमा लकडाउन खुकुलो, तीन घण्टा बजार खुला

गोकुल जोशी
बैशाख २७, २०७७ शनिबार ३:४२,

कोरोना भाइरस (कोभिड-१९) कोे संक्रमण फैलिन नदिन डेढ महिनादेखि लागू लकडाउन कञ्चनपुरमा केही खुकुलो पारिएकाे छ। 

यही वैशाख २४ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार शनिबारदेखि जिल्ला प्रशासनले लकडाउन केही खुकुलो बनाएकाे हाे।

सरकारले औद्योगिक (मदिराबाहेक) क्षेत्र खुला गर्ने निर्णय गरेकाे छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार आज (शनिबार)देखि लागू हुने गरी ३ घण्टा (बिहान ५ बजेदेखि ८ बजेसम्म) बजार खोल्न अनुमति दिइएको हाे।

उनका अनुसार तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिइएको छ। 

यस्तै राति ९ बजेदेखि बिहान ९ बजेसम्म औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु बोकेका साधन कञ्चनपुर प्रवेश, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म विकास आयोजनामा प्रयोग हुने उपकरण, सिमेन्ट, छडलगायत निर्माण सामाग्री बोकेका गाडी सञ्चालन, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

बैंंक तथा वित्तीय संस्था, अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थामा अति आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो मिलाई कार्य सञ्चालन गर्न सकिने छ। शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्लेस, सार्वजनिक जमघट, धार्मिक स्थलमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद स्थल, सैलुन तथा ब्युटी पार्लर, होटल/बार/रेस्टुरेन्ट, फ्रेस हाउस तथा मासु पसल भने बन्द नै राख्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले देशमै पहिलाेपटक चैत ९ गते राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको थियो।

सुदूरपश्चिमका सबै संक्रमित निको भएर घर फर्केको भोलिपल्ट कञ्चनपुर प्रशासनले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो।

शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला पनि निको भएर शुक्रबार डिस्चार्ज भएकी थिइन्।

यसअघि सेती अस्पतालमा उपचार गराएका ४ जना भने निको भएर घर फर्किसकेका थिए। योसँगै सुदूरपश्चिमका सबै पाँचै संक्रमितहरु निको भइसकेका छन्।

सरकारले देशव्यापी रुपमा भने चैत ११ देखि लकडाउन लगाएकाे हाे। पछिल्लोपटक थप गरिएको लकडाउन अवधि जेठ ५ गतेसम्म छ।

याे पनि: 
सुदूरपश्चिमका सबै संक्रमित निको भए, पाँचौं महिला पनि घर फर्किन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .