ad ad

समाज


त्रिशूलीमा युवतीले हामफालेको घटनाः पहिले ‘आत्महत्या दुरुत्साहन’ अहिले ‘कर्तव्य ज्यान’मा जेल चलान

त्रिशूलीमा युवतीले हामफालेको घटनाः पहिले ‘आत्महत्या दुरुत्साहन’ अहिले ‘कर्तव्य ज्यान’मा जेल चलान

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १५:३२,

सुरुमा आत्महत्या दुरुत्साहन मुद्दा चलाइएका नुवाकोटका एक नवविवाहित युवक अन्ततः कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका छन्।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारका २२ वर्षीय मौसम खातीलाई आफ्नै श्रीमतीकाे हत्या अभियोग लागेको हो। नुवाकोट जिल्ला अदालतले यही वैशाख ४ गते ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि रकम तिर्न नसकेपछि उनी कारागार चलान भएका हुन्।

सुरुमा उनीविरुद्ध लगाइएको आत्महत्या दुरुत्साहन मुद्दा पछि कर्तव्य ज्यान मुद्दामा परिणत गरी अनुसन्धान अघि बढाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए।

‘सुरुमा आत्महत्या दुरुत्साहन मुद्दा हालिए पनि पछि पीडितले पुनः हत्याकै आरोपमा किटानी जाहेरी दिएपछि त्यही आधारमा अनुसन्धान अघि बढाइएको हो,’ सोमबार साँझ नेपालखबरको जिज्ञासामा प्रहरी निरीक्षक फुयाँलले भने, ‘उनलाई अदालतले ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, तर तिर्न नसक्दा उनी जेल चलान भएका हुन्।’

कुनै पनि अभियुक्तलाई प्रहरीको हिरासतमा सामान्यतया २५ दिनसम्म राख्न पाउने प्रावधान छ। तर कोरोना महामारीका कारण देशमा लकडाउन लागू भएका कारण अदालती प्रक्रिया ढिला हुँदा उनी ४२ दिनसम्म हिरासतमा रहनुपरेको प्रहरी निरीक्षक फुयालले जानकारी दिए।

पहिले भवितव्य मानिएकाे घटना पछि आत्महत्या दुरुत्साहन हुँदै अहिले कर्तव्य ज्यान मुद्दामा परिणत भएकाे हाे।

यस्तो थियो घटना
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारका २२ वर्षीय मौसम खाती र धादिङ रोराङ–७ की २१ वर्षीया सञ्जु सुनाबीच विवाह भएको ६ महिना मात्र भएको थियो।

गत फागुन २१ गते मध्यराति ढुंगेबजारस्थित मौसमको चारतले घरको बरन्डाबाट सञ्जु घरको छेउमै रहेको त्रिशूली नदीमा हामफालेको अवस्थामा फेला परेकी थिइन् भने मौसम पनि छेउमै बेहोस फेला परेका थिए।

स्थानीयले खबर गरेपछि नुवाकोट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवैलाई नुवाकोट जिल्ला अस्पताल पुर्‍याएको थियो। त्यस क्रममा चिकित्सकले सञ्जुलाई तत्काल मृत घोषणा गरेका थिए भने मौसमलाई उपचार गरेको थियो।

कुनै चोटपटक नभएका मौसमको उपचारका क्रममा होस खुलेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

त्यतिबेला प्रहरीले माइतीलाई उधृत गर्दै मौसम श्रीमतीसँग झगडा गरिरहने भएकाले त्यही पिरले सञ्जुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको थियो।

त्यसपछि सञ्जुका बुबा तिलक सुनारले ज्वाइँ मौसमविरुद्ध उजुरी दिएका हुन्।

तर अहिले उनी कर्तव्य ज्यान मुद्दा खेपिरहेका छन् र ४० हजार धरौटी बुझाउन नसक्दा नुवाकोट जिल्ला कारगारमा बस्न बाध्य छन्।

यद्यपि उनीविरुद्धको अभियोग प्रमाणित हुन अर्थात् अदालतले मुद्दा फैसला गर्न बाँकी छ।

याे पनि: 

त्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .