ad ad

समाज


महोत्तरीमा विषाक्त मदिरा सेवनकै कारण १० जनाको मृत्यु भएको पुष्टि, यी हुन् मृतकहरु

महोत्तरीमा विषाक्त मदिरा सेवनकै कारण १० जनाको मृत्यु भएको पुष्टि, यी हुन् मृतकहरु

शैलेन्द्र महतो
बैशाख २२, २०७७ सोमबार १५:४९,

महोत्तरीमा अज्ञात कारणले मृत्यु भएको भनिएका १२ जना मध्ये १० जनाको विषाक्त घरेलु रक्सी सेवनकै कारण मृत्यु भएको पुष्टि भएको छ। घटना स्थलमा विभिन्न संघसंस्थाको स्वास्थ्यकर्मीको टोली पुगेर गरेको अनुसन्धान एवं परिक्षणबाट १० जनाको विषाक्त घरेलु मदिराकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले पुष्टि गरेका हुन्।

गएको वैशाख १० गतेदेखि २१ गतेसम्म महोत्तरीको भंगहा नगरपालिकाको वडा नंं ७, ६ र बर्दिबास नगरपालिकाको वडा नं १२ का १२ जनाको मृत्यु भएको थियो। जसमा वैशाख १६ गतेदेखि शुक्रबारसम्म मात्र ११ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय महोत्तरी, जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरी, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं टेकु र डब्लुुएचओको टोली त्यस क्षेत्रमा गएर गरेको अनुसन्धानबाट मृतक मध्येका १० जनाको मृत्युको कारण विषाक्त मदिरा नै रहेको पत्ता लागेको हो।

‘त्यस क्षेत्रमा गएर हामी स्वास्थ्यकर्मीले मृतक परिवार, केहि विषाक्त रक्सी सेवन गरेर पनि बाँच्न सफल भएका परिवारका सदस्य र स्थानीयसंगको सोधपुछ गरेका थियौं। जस मध्ये १० जना धेरै पहिलादेखि साँझबिहान रक्सी सेवन गर्ने गरेका थिए।’

स्वास्थ्य कार्यालय प्रमुख चौधरीले नेपालखबरसँग भने ‘एकसाता अघि कतैबाट त्यस बस्तीमा विषाक्त मदिराले प्रवेश पाएको थियो। त्यहि मदिराले नै उनीहरुको ज्यान गएको हो।’

विषाक्त मदिरा सेवन गरेका एकजना तत्कालै उल्टी गरेर बाँच्न सफल भएका थिए। ती व्यक्तिले थोरै मदिरा सेवन गर्दा निकै कडा र पेटमा जलन हुन थालेपछि तत्कालै उल्टी गरेर बाहिर निकालेका कारण बाँच्न सफल भएका प्रमुख चौधरीले बताए।

१२ जना मध्ये आइतबार बिहान मृत्यु भएका भंगहा नगरपालिका वडा नं ६ हरकपुरका ५८ वर्षका रुपनारायण सिंह दनुबार शारीरिक कमजोरी र झाडापखालाबाट र वैशाख १६ गते मृत्यु भएका बर्दिबास नगरपालिका १२ अहिनाम टोलका ५५ वर्षीय गंगाराम सदाको औलोको कारण मृत्यु भएको खुलेको प्रमुख चौधरीको भनाइ छ। गंगाराम सदाको रक्त परीक्षण गर्दा औंलोको लक्षण देखिएको थियो। रुपनारायण र गंगाराम सदा बाहेक बाहेक अन्य १० जना लामो समयदेखि साँझ बिहान रक्सी सेवन गर्ने गरेका कारण विषाक्त घरेलु रक्सीकै कारण उनीहरुको मृत्यु भएको जनाएको छ।

यी हुन् विषाक्त रक्सी सेवनबाट ज्यान गुमाउनेहरु
गएको वैशाख १० गते रौतहट जिल्ला जुरिबेला घर भई भंगहा नगरपालिका ७ मोघरौल टोलमा बस्दै आएका महेन्द्र चौधरीको मृत्यु भएको थियो। त्यस्तै वैशाख १६ गते सोहि टोलका ४४ वर्षका मोहन चौधरी, १७ गते सोही टोलका ५५ वर्षका लालबाबु सिंह र सोही वडाको मझौलिया टोलका ५५ वर्षीय नथुनी महराको मृत्यु भएको थियो।

यस्तै वैशाख १८ गते भंगहा ७ मझौलियाका ५७ वर्षीय सिकिन्दर सिंह र ५७ वर्षीय सुकदेव महराको मृत्यु भएको थियो भने वैशाख १९ गते, सोहि टोलका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो।

भंगहा नगरपालिका ७ सँगै जोडिएको बर्दिबास नगरपालिका वडा नं १२ को जुरी टोलका ३० वर्षका सिकिन्दर मण्डलको वैशाख १८ गते र ५५ वर्षीय सोमनीदेवी बातरको मृत्यु भएको थियो। यस्तै वैशाख १९ गते सोहि टोलकै एक इँटाभट्टामा काम गर्ने मजदुर भारतको उत्तर प्रदेश, जिल्ला लखिमपुर, गोलाकेकरनाथ ग्राम पञ्चायत बस्ने ५५ वर्षका मोतीलाल प्रजापतिको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

याे पनि हेर्नुहाेस्: महोत्तरीमा अज्ञात कारणले मृत्यु हुनेको संख्या दर्जन पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .