आइतबारदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि पीसीआर विधिबाट परीक्षण सुरु भएको छ। यो सँगै देशभरी १५ वटा अस्पतालबाट पीसीआर विधिबाट परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। भेरी अस्पतालमा अहिले ८ वटा नमुना परीक्षणको क्रममा रहेका छन्।
सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ। पश्चिममा भेरी अस्पताल र पूर्वमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य अस्पतालबाट आएका रिपोर्टहरु पुनः परीक्षण गरिने र त्यहाँ पोजेटिभ देखिएमा मात्रै पुष्टि हुने प्रवक्ता देवकोटाले बताए।
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ।
बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन्। आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवालाई डिस्चार्ज गर्ने तयारी भएको प्रवक्ता देवकोटाले बताए। दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उनले बताए। गते चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टिनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो। चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ। अहिले २७ जना उपचाररत रहेका छन्। शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पीसीआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ। आरडीटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उनले बताए। पछिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन्। प्रदेशहरुमा परीक्षणका लागि थप किटहरु पठाइएको छ।
क्वारेन्टिनमा ५ हजार १ सय ८० जना रहेका छन्। उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया