ad ad

समाज


कोरोनाबाट उत्पन्न अर्को संकट : मिर्गौला फेल हुने बढे, डायलासिस मेसिनको अभाव

कोरोनाबाट उत्पन्न अर्को संकट : मिर्गौला फेल हुने बढे, डायलासिस मेसिनको अभाव

द न्युयोर्क टाइम्स
बैशाख ७, २०७७ आइतबार ११:२९,

कोरोना भाइरस महामारी फैलिएपछि अमेरिकी अधिकारी तथा अस्पतालहरुले भेन्टिलेटरको अभाव हुने चेतावनी दिँदै आएका थिए। तर, अहिले डाक्टरहरुले अर्को संकटबारे चेतावनी दिइरहेका छन्ः डायलासिस मेसिनको अभाव।

कोरोना संक्रमित व्यक्तिहरुको ठूलो संख्यामा मिर्गौला फेल हुन थालेपछि उनीहरुलाई आपतकालीन डायलासिसको आवश्यकता पर्न थालेको छ।

पछिल्लो समय कोरोनाबाट सबैभन्दा ग्रस्त न्युयोर्क तथा अन्य सहरका अस्पतालमा सघन उपचार कक्षका डाक्टरहरु कोरोना भाइरस श्वासप्रश्वाससम्बन्धी रोग मात्र होइन रहेछ भन्ने बुझ्दैछन्। यो रोगले बिरामीको मिर्गौला पनि क्षति गरिरहेको छ।

त्यसैले भेन्टिलेटरजस्तै सिमित डायलासिस मेसिनलाई डाक्टरहरुले एक बिरामीबाट अर्को बिरामीमा सार्नु परिरहेको छ। सबैलाई बचाउन सकिन्न कि भन्ने भय उनीहरुमा छाउने गरेको छ।

भाइरसले मुख्यगरी मिर्गौलालाई नै असर गर्छ कि बिरामी गल्दो शरीरमा अर्को एउटा अंग फेल भएको हो, अझै स्पष्ट जानकारी प्राप्त भइसकेको छैन। अर्थात् मिर्गौलाकै कोषिकामा भाइरस संक्रमण कारण यो अंग फेल हुन्छ वा गम्भीर बिरामीका अन्य असरका कारण, पत्ता लागिसकेको छैन।

डायलासिस मिर्गौला निको हुञ्जेलका लागि अस्थायी रुपमा वा निको नभए स्थायी रुपमा प्रयोग गर्नुपर्ने हुन्छ। भाइरसका कारण मिर्गौलामा पुगेको क्षति स्थायी हो कि अस्थायी, त्यो पनि स्पष्ट छैन।

‘न्युयोर्क सहरका मिर्गौला रोग विशेषज्ञहरु अहिले छक्क परेका छन्। उनीहरु मिर्गौला फेल भएका सबैलाई उपचार पुर्‍याउन लागिपरेका छन्,’ न्युयोर्क हार्बर भीए हेल्थ केयर सिस्टमका डा. डेविड गोल्डफ्र्याब भन्छन्, ‘डायलासिस नपुगेर मान्छे मरेको हामी हेर्न चाहँदैनौँ। किड्नी रिप्लेसमेन्ट थेरापी आवश्यक पर्ने मानिसको संख्या यति धेरै भएको कहिल्यै देखिएको थिएन।’

बोस्टन, सिकागो, न्यु अर्लियन्स, डेट्रोइटजस्ता कोरोना भाइरस फैलिएका स्थानमा पनि यस्तै अवस्था छ। अत्यधिक सुविधासम्पन्न अस्पतालहरुमा पनि मिर्गौलाको उपचारका लागि भ्याइनभ्याइ छ।

कोरोना भाइरस संक्रमण भएर आईसीयूमा भर्ना भएका बिरामीमध्ये २० देखि ४० प्रतिशतमा मिर्गौला फेल हुने र आपतकालीन डायलासिस आवश्यक पर्ने अनुमान मिर्गौला रोग विशेषज्ञहरुको रहेको यल युनिभर्सिटी स्कुल अफ मेडिसिनका डा. एलन क्लिगर बताउँछन्।

‘अस्पतालको नियमित आपूर्ति चाँडै सकिँदैछ,’ उनले भने।

न्युयोर्कमा महामारी फैलिँदा गभर्नरदेखि मेयरसम्म हजारौँ भेन्टिलेटर जुटाउन लागिपरे। तर, यतिबेला डायलासिस मेसिनको अभाव देखेर डाक्टरहरु चकित छन्। मेसिन मात्र अभाव भएको होइन।

डायलासिसका लागि आवश्यक पर्ने तरल पदार्थ र अन्य सामग्रीको पनि अभाव छ। डायलासिस गर्न तालिमप्राप्त नर्सको समेत अभाव भएको छ।

‘सबै जनाले यसलाई श्वासप्रश्वाससम्बन्धी रोग ठानेका थिए,’ न्युयोर्क युनिभर्सिटी ल्याङगन मेडिकल सेन्टरका नेफ्रोलोजी विभागका प्रमुख डा. डेविड च्यारिटान भन्छन्। मागे बमोजिमको उपकरण र सामग्री नपाएपछि अन्य प्रकारका मेसिन प्रयोग गर्न थालिएको उनले बताए।

सुरुमा चीनमा महामारी फैलिँदा कोरोना संक्रमित केहीलाई मिर्गौलामा पनि समस्या देखिने रिपोर्ट आएका थिए। चीनबाट अझ धेरै तथ्यांक आउँदै गर्दा इटलीमा महामारी फैलियो। त्यसपछि मिर्गौला रोग विशेषज्ञमाझ चर्चा हुन थाल्यो– भाइरसका गम्भीर बिरामी, अर्थात् जो भेन्टिलेटरमा पुग्छन्, तीमध्ये धेरैलाई डायलासिस पनि आवश्यक पर्छ।

अस्पतालहरुले डायलासिससम्बन्धी उपकरण र सामग्री उत्पादकहरुलाई आपूर्ति बढाउन आग्रह गरेका छन्। उनीहरुले मेसिन, फिल्टर, ट्युबलगायत सामग्री धेरै पठाउन भनेका छन्। यस्ता सामग्री उत्पादन गर्ने कम्पनीहरुले पनि पाँच गुणा माग बढेको बताएका छन्।

‘मागमा एकदम चाँडो वृद्धि भयो। हामीले सक्नेजति सबैथोक गरिरहेका छौँ,’ ब्याक्सटर नामक कम्पनीका प्रवक्ता लौरेन रसले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .