मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ।
आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो। आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पु¥याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताए।
यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा दिइएको पनि उनले बताए।
आयोगको सर्वपक्षीय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ। प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उनले बताए।
मुलुक कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातीय द्वन्द फैलाउने काम भएको प्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ। उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरु कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो।
प्रतिक्रिया