लकडाउन लम्बिँदै जाँदा निम्न वर्ग र मजदुरहरु सबैभन्दा बढी समस्यामा परेका छन्।
एक्कासि लकडाउन हुँदा भाडामा बस्ने विद्यार्थीदेखि दैनिक ज्यालादारी गर्ने कामदारलाई गुजारा चलाउन समेत गाह्रो हुन थालेको छ।
यसको सबैभन्दा ठूलो उदाहरण काठमाडौं महानगरपालिकामा राहत पाऊँ भनेर हजारौंले भरेको फर्मले देखाउँछ। सोमबारसम्म भन्डै ५४ हजार व्यक्तिले राहतका लागि महानगरमा फर्म बुझाएका छन्।
बुधबारसम्म महानगरपालिकाका ३२ वडामा ५४ हजार ४ सय ४७ जनाले राहत फर्म भरेको मेयर विद्यासुन्दर शाक्यले बताए।
‘हरेक दिन फर्म भर्नेहरुको संख्या बढिरहेको छ,’ शाक्यले नेपालखबरसँग भने, ‘लकडाउन लम्बिँदै जाँदा फर्म भर्ने पनि बढिरहेका छन्।’
कोरोना भाइरस संक्रमण देखिन थालेपछि सरकारले चैत ११ देखि लकडाउन गरेको थियो। त्यसपछि मजदुरी तथा अन्य कामका लागि काठमाडौं छिरेका कामदारको रोजीरोटी गुमेको छ।
लकडाउन सुरु भएसँगै महानगरपालिकाभित्र बस्ने मजदुर, विद्यार्थी र दैनिक खाना जुटाउन नसक्नेहरुको विवरण संकलन सुरु गरिएको मेयर शाक्यले बताए।
महानगरपालिकाले राहत वितरण गर्नुपर्ने व्यक्तिको विवरण संकलन गर्न ३२ वडामा फर्म वितरण गरेको थियो। वडाले टोलटोलमा गएर फर्म भराएको थियो। फर्म भर्नेले आफ्नो नागरिकतासहित सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ।
हरेक वडामा भरिएको फर्मलाई महानगरपालिकामा जम्मा गरिएको थियो।
३२ वटा वडामध्ये बुधबारसम्म सबैभन्दा धेरै फर्म १५ नम्बर वडामा भरिएको छ। उक्त वडामा ४ हजार ३ सय १२ जनाले फर्म भरेका छन्। त्यस्तै, ३१ नम्बर वडामा ४ हजार २ सय २६ र धेरै वडामा ३२ हजारभन्दा धेरैले फर्म भरेका छन्।
फर्म भरेकामध्ये ४४ हजार ६ सय ७१ जनाले राहत पाइसकेको शाक्यले बताए।
‘हामीले आवश्यकता हेरेर राहत वितरण गरेका छौं,’ शाक्यले भने, ‘मजदुरदेखि विद्यार्थी र काठमाडौंमा अलपत्र परेकालाई राहत दिएका छौं।’
महानगरपाकिाले सुरुमा भरेको फर्मले काम नगरेपछि पुनः भर्न लगाएको थियो। लकडाउन लम्बिएपछि राहतको माग बढेकाले थप फर्म भरिएको उनले बताए।
वडाले टोलटोलमा समन्वय गरेर राहत वितरण गरिरहेको छ।
महानगरपाकिाले वितरण गरेको राहतमध्ये आफ्नो वडाका २ हजार एक सय जनाले पाएको १५ नम्बर वडाका अगुवा अरविनमान सिंहले बताए।
‘हाम्रो वडामा ३ हजार एक सय जनाले फर्म भरेका थिए,’ लखतीर्थ क्लबका अध्यक्ष समेत रहेका सिंहले नेपालखबरसँग भने।
उनका अनुसार १५ नम्बर वडामा ८ केजी चामल, ४ केजी चिउरा, २ केजी दाल, १ केजी प्याज, एक प्याकेट नुन र आधा लिटर तेल राहतको रुपमा वितरण गरिएको थियो।
राहतको प्याकेज भने आवश्यकताअनुसार हरेक वडामा फरक फरक छ।
१५ नम्बर वडामा लखतीर्थ क्लबले आफ्नो टोलमा फर्म भराएको थियो। वडामा प्रायः ज्यालादारीमा काम गर्ने मजदूर र केही भाडामा बस्नेहरुले पनि फर्म भरेको उनले बताए।
प्रतिक्रिया