कोरोना भाइरसबाट संसारमै सबैभन्दा बढी संक्रमण तथा मृत्यु हुने देश अमेरिका बनेको छ।
पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या विश्वका अन्य सबै देशमा भन्दा उच्च भएको हो।
नेपाली समय शनिबार राति ९:२४ बजेसम्म (वर्ल्डओमिटर) काे तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको हो। जुन यसअघि कोरोनाबाट विश्वमा सबैभन्दा बढी मृत्यु भएको देशमा दर्ज इटलीको भन्दा धेरै हो।
यो खबर तयार पार्दासम्म इटलीमा मृतकको संख्या अमेरिकाको भन्दा कम १८ हजार ८ सय ४९ छ।
कोरोना संक्रमितको संख्या त झन् काेराेनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित देशको सूचीमा रहेका स्पेन र इटलीको भन्दा अमेरिकामा झन्डै चौब्बर बढी देखिएको छ।
यो खबर लेख्दासम्म अमेरिकामा ५ लाख ६० हजार ८ जना संक्रमित भएका छन्। यसपछि विश्वमा सबैभन्दा बढी संक्रमित क्रमश: स्पेनमा १ लाख ६१ हजार ८ सय ५२ तथा इटलीमा १ लाख ४७ हजार ५ सय ७७ जना छन्।
यस्तै कोरोनाका कारण इटलीपछि स्पेनमा अहिलेसम्म १६ हजार ३ सय ५३ जनाको मृत्यु भएको छ।
विश्वमा यिनै तीन देश अमेरिका, स्पेन र इटली कोरोनाबाट सबैभन्दा बढी चपेटामा परेका छन्।
यस्तै अहिलेसम्म काेराेनाबाट विश्वभर १ लाख ५७ हजार २२ जनाकाे मृत्यु भइसकेकाे छ भने १७ लाख २७ हजार ५ सय ६ जना संक्रमित भइसकेका छन्।
प्रतिक्रिया