भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण एकै दिनमा ४० जनाको मृत्यु भएको छ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याणका अनुसार कोरोनाको संक्रमणले भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४० जनाको मृत्यु भएको हो। यस्तै यस अवधिमा मात्रै १ हजार जना कोरोना संक्रमित पाइएका छन्।
योसमेत गरेर भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७ हजार ४ सय ४७ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
६ सय ४२ संक्रमित भने उपचारपछि निको भएको बताइएको छ।
सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा १ हजार ६ सय ६६ जनामा पुष्टि भएको छ भने १ सय १० जनाको मृत्यु भएको छ।
महाराष्ट्र पछि भारतमा सबैभन्दा बढी संक्रमित राजधानी दिल्लीमा शनिबार अपराह्नसम्म ९ सयभन्दा बढी देखिएका छन्। तीमध्ये १३ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरोनाको पहिलो संक्रमण माघ २ गते देखिएको थियो। तीन महिनाभित्र संक्रमण पूरै भारतभरि फैलिसकेको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामसम्बन्धमा मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। भिडियो कन्फरेन्समार्फत भएको छलफलमा शनिबारको भिडियो संवादमा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउनलाई कम्तीमा दुई साता लम्बाउनुपर्ने धारणा राखेका छन्।
भारतमा मार्च गत २४ देखि लागू ३ साता लामो लकडाउन अप्रिल १४ पूरा हुँदै छ।
प्रतिक्रिया