ad ad

समाज


राजदूत भन्छन्ः अष्ट्रेलियाका कोरोना संक्रमित सबै नेपाली निको भए

राजदूत भन्छन्ः अष्ट्रेलियाका कोरोना संक्रमित सबै नेपाली निको भए

नेपालखबर
चैत २९, २०७६ शनिबार ११:२६,

अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड—१९) बाट संक्रमित सबै ८ जना नेपाली निको भएका छन्। दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपाली कोरोनाबाट संक्रमित भएका थिए। त्योभन्दा अगाडि तासमेनियामा एक जना नेपाली संक्रमणमा परेका थिए।

कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी थिए। संक्रमण देखिएपछि आइसोलेसनमा बसेर उनीहरुले उपचार गरेका थिए।

‘हामी नेपालीका लागि यो खुशीको कुरा हो उहाँहरु सबै ८ जना निको भएर सामान्य जीवनमा फर्किनु भएको छ’ अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले नेपालखबरसँग टेलिफोनमा भने, ‘दुई साता अगाडि ७ जनामा संक्रमण देखिएको थियो। पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। तासमेनियाका पहिला नै निको भइसक्नु भएको हो। सबै निको भएपछि अब अष्ट्रेलियामा कोरोना संक्रमित कोही नेपाली पनि छैनन्।’

सबैभन्दा पहिले तीन साता अगाडि तासमेनियाका एक जना नेपाली विद्यार्थी कोरोना संक्रमणमा परेका थिए। संक्रमण देखिनासाथ आइसोलेसनमा बसी उपचार गरेका उनी छोटो समयमै निको भएको राजदूत दाहालले बताए।

७० हजार नेपाली विद्यार्थी अप्ठ्यारोमा
अष्ट्रेलियामा १ लाख २० हजार नेपाली छन्। यी मध्ये ७० हजार विद्यार्थी हुन्। आंशिक काम गरेर कलेज शुल्क तिर्नुपर्ने नेपाली विद्यार्थी कोरोनाका कारण अप्ठ्यारोमा परेका छन्। राजदूत दाहालका अनुसार अष्ट्रेलियामा स्टोर र मेडिकल बाहेकका सबै क्षेत्रका काम बन्द छन्। कमाएर कलेज शुल्क र कोठा भाडा तिर्नुपर्ने नेपाली विद्यार्थीलाई यसले समस्या परेको हो।

गाह्रो अवस्थामा रहेका नेपाली विद्यार्थीहरुको तथ्यांक नेपाली दूतावासले संकलन गरिरहेको छ। त्यसका लागि केही समयअघि दूतावासले आफ्नो अवस्था जानकारी गराउन आह्वानै गरेको थियो। राजदूत दाहालका अनुसार अहिलेसम्म १ हजार ५ सय नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका छन्।

‘नेपाली विद्यार्थीको यो विषय समाधान गर्न हामीले अष्ट्रेलिया सरकारलाई अनुरोध गरेका थियौं’, राजदूत दाहालले भने, ‘केही विश्वविद्यालयले शुल्क तत्काललाई नलिने निर्णय गरेको सूचना प्राप्त भएको छ। यो संकट झन् गहिरिए अवस्था जटील हुनसक्छ। समाधान खोज्न नेपालमा रहेका परिवारले पनि ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .