नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक व्यक्ति भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। यी मध्ये एकजना उपचारपछि निकाे भइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गरेका छन्।
काठमाडाैंकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना गरी उपचार जारी छ।
‘भर्खरै तेस्रो संक्रमित व्यक्ति भेटिएको जानकारी आएको छ। रोगीको बारेमा विस्तृत जानकारी प्राप्त भइसकेको छैन’, सरुवा रोग तथा इपिडिमियोलोजीका प्रमुख डा. बासुदेव पाण्डेले नेपालखबरसँग भने, ‘ती व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको छ।’
टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ती व्यक्ति हालै खाडी मुलुकबाट आएका हुन्।
नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ।
तेस्राे व्यक्ति विदेशबाट फर्केकाे वा स्वदेशमैं संक्रमित भएकाे अहिले खुलिसकेकाे छैन।
याे पनि:
नेपालमा १ जना कोरोना संक्रमित भेटिए, टेकु अस्पतालमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय
प्रतिक्रिया