ad ad

समाज


सार्वजनिक स्थानमा सावुनपानी, स्यानिटाइजर, कसले कहाँ राखे

सार्वजनिक स्थानमा सावुनपानी, स्यानिटाइजर, कसले कहाँ राखे

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १२:८,

कोरोना (कोभिड–१९) को संक्रमण एकजना मानिसबाट तीव्ररुपमा फैलिनसक्ने आशंकाका कारण त्यसको प्रकोप देखिनु पहिले नै सावधानी अपनाउनका लागि राजधानी काठमाडौंलगायत बिभिन्न सार्वजनिक ठाउँमा सावुनपानीसहित हात धुने व्यवस्था गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत बिभिन्न निकायहरुले हात धुनु नै यो संक्रमणलाई रोक्ने सबैभन्दा प्रभावकारी उपाय बताइरहेका बेला नेपालमा यो व्यवस्था गरिएको हो।
विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले सार्वजनिक ठाउँहरुमा हात धुने व्यवस्था गरेका हुन्।

काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा यस्तो व्यवस्था मिलाएको छ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयअगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताए।

नगरपालिकाको आफ्नै खर्चमा भिडभाड हुने स्थानमा मेसिन राख्ने व्यवस्था मिलाएको उनले बताए।

ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताए।

Handwash durbarmarg 1

यसैगरी बाहुबली सिमेन्ट, पाको मोवाइल र कञ्चनजंगा अगरबत्ती धुपले पनि विभिन्न ठाउँमा हात धुनका लागि साबुनपानी र स्यानिटाइजर राखेका छन्।

दरबारमार्गमा स्यानिटाइजर राखेर बसेका बाहुबली सिमेन्टका स्वयंसेवकहरुले शुक्रबार दिउँसाे त्यहाँ हिँडिरहेका व्यक्तिहरुलाई बाेलाएरै स्यानिटाइजर प्रयाेग गराैं भनिरहेका देखिन्थे।

ट्राफिक कार्यालयले आफ्ना कार्यालयहरु अगाडी साबुनपानी राखेका छन्।

ट्राफिक कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘हामीले हाम्रा सबै कार्यालयअगाडी साबुनपानी राखेका छौं भने प्रहरीहरुले पनि जनचेतना जगाउन विभिन्न प्लाकार्डहरु लिएर बसेका छन्।’

यस्तै सर्वसाधारणका लागि न्यूरोडको पाको बजार क्षेत्रमा पनि १२ ठाउँमा हात धुनका लागि साबुनपानी राखिएको छ।

‘यो बजार वरपर १२ ठाउँमा साबुनपानी राखेका छौ, तर २–३ ठाउँको मात्र धेरै प्रयोग भएको पाइएको छ। अन्य ठाउँमा हात धोएको पनि पाइएन,’ पाको बजारकै एक व्यापारी सुरेन्द्र केसीले भने।
सो बजारमा धुलोको कारणले गर्दा समस्या उत्पन्न भएको उनले बताए। उनका अनुसार साबुनपानी राखेको ठाउँमा पनि धाराको सरसफाईमा भने ध्यान दिइएको छैन।

Handwash durbarmarg

‘फोहोर भैसकेको छ तर सफा गरेको पाइएन। हात धुने बेलामा पनि धेरै मानिस दोधारमा परेको देखियो,’ केसीले भने, ‘हात धोएपछि पुनः धारा बन्द गर्नुपर्दा के गर्ने भनेर मानिसहरु अलमलिएको देखिन्थ्यो।’

बजारको अभ्यास हेर्दा साबुनपानीभन्दा स्यानिटाइजर उपयुक्त हुने व्यापारी केसीले अनुभव सुनाए। ‘यसको लागि शनिबार बैठक बस्दैछौं र थप निर्णय गर्नेछौं,’ उनले भने।

कञ्चनजंगा अगरबत्ती धुपका म्यानेजर पुस्कर केसीले देशभर १०० स्थानमा स्यानिटाइजर राख्ने योजना सुनाए।

‘अहिले काठमाडौंको चारखाल, कमलपोखरी, मैतीदेवी र भक्तपुरमा राखिसकेका छौं। अरु ठाउँमा राख्नका लागि स्थान हेरिरहेका छौ,’ उनले सुनाए।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .