ad ad

कारोबार


कोरोनाको प्रभाव : पदयात्रा रोकियो, सुनसान लेकसाइड !

कोरोनाको प्रभाव : पदयात्रा रोकियो, सुनसान लेकसाइड !

वाशुदेव मिश्र
चैत ७, २०७६ शुक्रबार १२:१०,

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासबीच शुक्रबारबाट सबैखाले पदयात्रा रोकिएको छ। पर्यटन मन्त्रालयले सूचना जारी गर्दै सबैखाले पदयात्रा रोक्न निर्देशन दिएको हो।

पर्यटन मन्त्रालयले व्यक्तिगत तथा सामूहकि पदयात्रामा रहेका पर्यटकहरुको यात्रा रोक्न तथा सुरक्षित ठाउँमा फर्कन अनुरोध गरेको हो।

मन्त्रालयद्वारा जारी सूचनामा पर्यटकहरुलाई अनिवार्य १४ दिने क्यारेन्टाइनमा राख्न पनि सुझाब दिएको छ। मन्त्रालयको यो सूचनासँगै टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल कार्यालयले पदयात्रा अनुमतिपत्र दिन बन्द गरेको छ। टान पश्चिमाञ्चलका महासचिव जीवन सापकोटाका अनुसार शुक्रबारबाट पर्यटकलाई टे«किङ इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड दिन बन्द गरिएको छ। टानले आफ्ना सदस्य प्रतिष्ठानहरुलाई नेपालमा रहेका पर्यटकहरुको भ्रमण छोट्याएर सुरक्षित तवरले स्वदेश फर्काउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

यसअघि टानले ‘सेल्फ क्वारेन्टाइन’को प्रमाणपत्र भएकालाई मात्र पदयात्रा अनुमतिपत्र दिने निर्णय गरेको थियो। कोरोना भाइसर (कोभिड–१९) को संन्त्रासकाबीच पर्यटन मन्त्रालयले बिहीबार नेपाल आउने नेपाली र विदेशी पर्यटकहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टइनमा राख्ने निर्णय गरेसँगै टान पश्चिमाञ्चलले यो निर्णय गरेको हो। टान पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलका अनुसार चालु अंग्रजी वर्षको मार्च १४ अर्थात् चैत १ गतेयता नेपाल आएका पर्यटकहरुको लागि नेपाल छिरेका विदेशी पर्यटकलाई ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड दिँदा यो सर्त अनिवार्य बनाइएको थियो। टिम्सको व्यवस्थापन टानले गर्दै आएको छ। टिम्स कार्ड नभएका पर्यटकहरुलाई पदयात्राको अनुमति हुँदैन।

यता, रेस्टुरेन्ट एन्ड बार एसोसियनस (रेवान) पोखराले बिहीबार आफ्ना सदस्यहरुलाई रेष्टुराँमा आउने ग्राहकको तापत्रम नाप्ने व्यवस्था मिलाउन, सेनेटाइजरको व्यवस्था गर्न, टेबुल कुर्ची सफा राख्न सर्कुलर जारी गरेको छ। सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन गरेको आग्रहलाई स्वीकार्दै रेवानले शुक्रबार आयोजना गरेको बैठक नै स्थगित गरेको छ।

होटलमै क्वारेन्टाइन?
यता, पर्यटन मन्त्रालयले विदेशबाट नेपाल आउने हरेक व्यक्तिलाई सोझै घर नपठाउन र १४ दिन क्वारेन्टाइनमा राख्नको लागि होटलसँग कोठा माग गरेको छ। पश्चिमाञ्चल होटल संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत खाना, खाजासहित दैनिक कति पैसामा होटलको सिंगल र डबल कोठा उपलब्ध गराउन सकिन्छ भन्दै सदस्य प्रतिष्ठानहरुलाई पत्राचार गरेको छ। अध्यक्ष विकल तुलाचनका अनुसार मन्त्रालयले पत्र पठाएपछि संघले आफ्ना सदस्यहरुलाई कोठा उपलब्ध गराउन सक्ने÷नसक्नेबारे जानकारी माग गरेको छ।

‘मन्त्रालयले अनिवार्य त हैन इच्छुकले कोठा उपलब्ध गराउन सकिने÷नसकिनेबारे जानकारी मागेको छ’, उनले भने, ‘घर फर्कने चाहने नेपालीहरुको हकमा त्यस्तो गर्न खोजिएको होला तर होटलसँग स्वास्थ्यसम्बन्धी सचेतना एवं सुरक्षा कम भएकाले गाह्रो पर्ने देखिन्छ।’ उनले यो विषयमा सरकार नै पहिला प्रष्ट हुनुपर्नेमा पनि जोड दिए।

सुनसान लेकसाइड ! बन्द हुँदै होटल
म्याग्दीको पुनहिलतिर यतिबेला लालीगुराँस राताम्य भएको छ। जाडो छल्ल बेसी झरेका मुस्ताङ्गे र मनाङ्गेहरु आफ्नै थातथलो फर्किसके। अघिल्ला वर्ष सम्झने हो भने, यतिबेला पुनहिल विदेशीले भरिभराउ हुन्थ्यो। मुस्ताङ र मनाङतिर ‘रुस्याक’ बोकेका विदेशीहरुको ताँती लाग्थ्यो। मुख्य पर्यटकीय सिजनमा व्यवसायीहरुको सक्रियता नै अर्कै हुन्थ्यो।

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा पदयात्रा सकेका र जानेहरु दोहोरिलत्त हुन्थे। तर, अहिले न पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी छन् न त पदयात्रा मार्गमा नै। पर्यटकीय सिजनको मुखैमा विश्वव्याधीका रुपमा फैलिएको कोरोना भाइसका कारण पर्यटकीय गतिविधि ठप्प छन्।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले होटल व्यवसाय ठप्पै भइसकेको छ। पर्यटकीय सिजनको मुखमा नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्दै सबै देशका आगमन प्रवेषाज्ञासमेत निषेध गर्दा यो अवस्था आएको उनले बताए। टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलका अनुसार यतिबेला पदयात्रका गतिविधि ठप्पै भएको छ।

‘चालु अंग्रेजी वर्षमा युरोपियनहरुको बुकिङ असाध्यै राम्रो थियो तर अहिले सबै रद्द भइसक्यो’, उनले भने,‘ अहिले त हवाई उडान नै बन्द छ, क्वारेन्टाइन सर्टिफिकेट बिना त्यत्तिकै यहाँ घुम्न पनि पाइँदैन, भएकाहरु पनि आफ्नै देश फर्कँदै छन्।’ स्विस र जर्मन डाक्टरको टोली उनको कम्पनीमार्फत मर्दी हिमाल पदयात्रा जाने तर्खरमा रहेको एउटा टोली बिहीबारमात्रै स्वदेश फर्केको पनि उनले सुनाए।

‘मेरै कम्पनीबाट उनीहरु पदयात्रा जाँदै थिए, लामो समय नेपाल बस्ने योजना थियो’, उनले भने,‘ नेपाल आएलगत्तै उनीहरुकै देशमा कोरोना फैलियो, अनि उनीहरुले म त देशका नागरिकको उपचारमा खट्नुपर्छ भन्दै पदयात्रा रद्द गरे।’

पोखरा आउने आन्तरिक पर्यटकहरु घट्दा फेवातालको डुँगा सयरदेखि रेस्टुरेन्ट व्यवसायको हालत पनि उस्तै रहेको उनले जनाए। बजारमा मास्क, हेन्ड सेनिटाइजर, औषधी तथा अति आवश्यक दैनिक उपभोग्य वस्तु– इन्धन, खाद्यान्न आदिको कृत्रिम अभाव देखिँदा त्यसको प्रभाव होटल व्यवसायमा परेको होटल संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ। सन् २०१९ को मार्च महिनामा २२ हजार १ सय ५७ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। यसवर्ष मार्च १० सम्म भने मुस्किलले एक हजारले सो क्षेत्रको भ्रमण गरेका छन्।

सन् २०१९ को फ्रेबुअरीमा ७ हजार १ सय ५३ पर्यटक पदयात्रामा निस्किएकामा यस वर्ष उक्त महिनामा ६ हजार १९ विदेशी अन्नपूर्ण क्षेत्र पुगेका थिए। पर्यटक नै नआउँदा साहसिक पर्यटन तथा अन्य सबै गतिविधि प्रभावित बनेको छ। कोरोना भाइरसका कारण पर्यटन उद्योगमा मन्दी छाएपछि राहत प्याकेज माग गरेका उनीहरु यतिबेला भने मौन देखिएका छन्।

‘राहत माग्ने एउटा पाटो हो, अहिले हामीमा पनि जनशक्ति र अन्य आवश्यक व्यवस्था मिलाउने दायित्व थपिएको छ’, होटल संघका अध्यक्ष तुलाचनले भने, ‘हामी पनि यो संकटमा कसरी टिक्ने भन्ने उपाय खोज्दैछौँ।’ यहाँको चाउथेमा रहेको रोयल पाल्म होटल बन्द नै भएको छ भने अन्य होटलहरुले पनि कामदार कटौती गरेका छन्। अध्यक्ष तुलाचनका अनुसार ठूला होटलमा रहेका कर्मचारीहरु सिञ्चत बिदा लिएर घर गएका छन्। साना होटलले जेनतेन आफ्नो व्यवस्थापन गरेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .