ad ad

समाज


चीनमा कोरोनाको प्रभाव घट्दा युरोपेली देशमा ह्वात्तै बढ्यो

चीनमा कोरोनाको प्रभाव घट्दा युरोपेली देशमा ह्वात्तै बढ्यो

नेपालखबर
चैत ३, २०७६ सोमबार ६:१८,

केही दिनयताको तथ्यांक हेर्दा कोरोनाको उद्गमस्थल चीनले कोरोना नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको देखिएको छ।

चीनमा कोरोना संक्रमित र मृत्यु दर अत्यन्त न्यून देखिन थालेको छ। गएको २४ घण्टामा चीनमा मात्र १६ व्यक्ति कोरोनाबाट संक्रमित बने, १२ को मृत्यु भयो।

तर सोही अवधिमा युरोपेली देशको संक्रमित दर र मृतक दरलाई हेर्दा कोरोना भाइरसले युरोप निकै प्रभावित बनेको देखिएको छ।

गत शुक्रबार मात्र विश्व स्वास्थ्य संगठनले कोरोनाको केन्द्रविन्दु अब चीन नभएर युरोप भएको बताएको थियो।

गत हप्ता नै चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको थियो। चिनियाँ राष्ट्रपति आफैं कोरोनाको उद्गमस्थल वुहान पुगेका थिए।

गएको २४ घण्टामा युरोपका तीन देशमा मात्रै ४ सय ७९ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण आइतबार एकै दिन इटालीमा ३६८ जनाको मृत्यु भयो। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २४ हजार ७४७ पुगेको छ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ संक्रमितको मृत्यु भयो। योसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ८४५ पुगेको स्पेनी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

आइतबारै फ्रान्समा २९ जनाको मृत्यु भयो। योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १२७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ५ हजार ४२३ पुगेको छ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृत्यु भएको थियो।

इटाली, स्पेन, फ्रान्स र बेलायतमा गरी कोरोना संक्रमणका कारण आइतबार एकै दिन अहिलेसम्मकै धेरै ५ सय ८ जनाको मृत्यु भएको हो।

बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या १३ सय ९१ पुगेको छ।

गत डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना संक्रमण पछिल्लो समय चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ।

चीनमा भने कोरोनाको प्रभाव घट्दै गएको छ। अहिलेसम्म विश्वभर कोरोनाका कारण कूल ६ हजार ६५ जनाको मृत्यु भएको छ। तीमध्ये चीनका मात्रै ३ हजार ८५ जना छन्।

यस्तै विश्वभरमा अहिलेसम्म संक्रमितको संख्या १ लाख ६२ हजार ६८७ पुगेको छ। त्यसमा चीनका मात्रै ८१ हजार ३ जना छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .