ad ad

समाज


चीनको आरोपः अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस ल्याए

चीनको आरोपः अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस ल्याए

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ७:४,

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार अमेरिकी सेनाले चीनको वुहानमा कोरोना भाइरस ल्याएको हुनसक्ने बताएका छन्। बेइजिङबाट ग्याब्रियल क्रसलेले रोयटर्सका लागि लेखेको समाचारमा जनाइएअनुसार ती प्रवक्ताले वासिङटनसँग भाइरसलाई लिएर कडा शब्दमा वाक्युद्ध गरेका हुन्।

केही दिनयता अमेरिकी अधिकारीहरुले चीनको वुहानमा सुरु भएको भाइरस फैलिन नदिन चीनले सुरुवाती चरणमै आवश्यक कदम नचालेकोले विश्व नै संक्रमित भएको आरोप लगाउँदै आएका थिए। बुधबार मात्रै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले चीनले सुरुमै प्रभावकारी कदम नचाल्दा विश्वभर फैलिएको आरोप लगाएका थिए।

कडा शब्दमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानको प्रमाणित ट्विटर एकाउन्टमा अंग्रेजीमा गरिएको ट्विटमा अमेरिकाले पारदर्शिता नदेखाएको आरोप लगाइएको छ।

‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो? कति संक्रमित छन्, ती अस्पतालका नामहरु के हुन्? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोनाभाइरस ल्याए।’, झाओले भनेका छन्, ‘पारदर्शी होऊ, तथ्यहरु सार्वजनिक गर, हामीलाई विस्तृत जानकारी चाहियो।’ 

झाओलाई आक्रामक ट्विटर प्रयोगकर्ता मानिन्छ। तर उनले ट्विटरमा भाइरस फैलाएको अमेरिकी सेनालाई आरोप लगाए पनि यसको प्रमाण भने दिएका छैनन्। बिहीबार झाओकै समकक्षी विदेश मन्त्रालयका अर्का प्रवक्ता गेंग शुआंगले अमेरिकी अधिकारीहरुको आलोचना गर्दै अनैतिक र अनुत्तरदायी भन्ने प्रतिक्रिया दिएका थिए। अमेरिकी अधिकारीले बेइजिङको भाइरसविरुद्धको कदम प्रभावकारी नहुँदा विश्वमा महामारी सृजना भएको आरोप लगाएपछि गेंगले आलोचना गरेका हुन्।

ओब्राइनको प्रतिक्रियालाई लिएर बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा गेंगले यस्ता धारणाले कुनै सहयोग नगर्ने टिप्पणी गरेका थिए।

कोरोना भाइरस संक्रमण २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको वुहानमा देखिएको थियो। त्यसलगत्तै हुबेई प्रान्तमा फैलिएको थियो। जहाँ विश्वका संक्रमणको दुई तिहाइ भेटिएको थियो। तर केही सातायता भने चीनबाहिर भाइरस संक्रमण तीव्ररुपमा फैलिएको छ। चीनले भाइरस रोक्न हुबेई पूरै बन्द गरेको थियो भने वुहानमा समेत ठप्प पारिएको थियो।

हालसम्म विश्वमा १ लाख २५ हजार हाराहारीमा संक्रमण फैलिएको छ भने ४ हजार २ सय ९८ बढीको मृत्यु भएको छ। अमेरिकामा ९ सय ७५ जनामा संक्रमण र ३० जनाको मृत्यु भइसकेको छ।

चीनमा संक्रमितको संख्या निकै घटेर लगभग शून्यको अवस्थामा झरेको छ भने संक्रमितहरू धेरै निको भएर घर फर्केका छन्। बुधबार वुहान पुगेर राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस संक्रमण चीनमा समाप्त भएको घोषणा गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .