ad ad

समाज


मोडल खुस्बु ओली: जेल जाने कि पैसा बोकेर अदालत?

मोडल खुस्बु ओली: जेल जाने कि पैसा बोकेर अदालत?

उजिर कार्की
फागुन २३, २०७६ शुक्रबार ६:३६,

 सन् २००६ मा मिस टिन जितेपछि खुस्बु ओलीको परिचय बदलियो। मोडल खुस्बुले मोडलिङसँगै समाजसेवीको समेत परिचय बनाइन्। तर यो परिचय मेटिन धेरै समय लागेन, पछिल्ला दुुई वर्ष नै पर्याप्त रहे।

पछिल्लो समय मिस टिन विजेता खुस्बुको परिचय ‘ठग खुस्बु’को रुपमा रुपान्तरण भएको छ। एक साता अघि काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको मुद्दामा फैसला गरेसँगै झापा सुरुंगाकी खुस्बु फरार छिन्। फरार खुस्बुसँग अब २ विकल्प छन्। हत्कडी लगाएर कारागार जाने वा ७२ लाख रुपैयाँ रकम लिएर अदालत।

‘चेक बाउन्स’को मुद्दामा काठमाडौं जिल्ला अदालतले फागुन १६ गते खुस्बुलाई २ वर्षको कैद फैसला सुनाएको हो। अब उनलाई पैसा तिराउन अदालतले ताकेता गर्ने छैन। गत वर्ष तोकिएको बिगो नतिरेकै कारण बिगो बराबरको कैद तोकिएको हो।

अदालतमा बिगो दाखिला गरेर निवेदन दिए अझै खुस्बुुसँग जेल बस्दिनँ भन्ने विकल्प बाँकी रहेको वरिष्ठ अधिवक्ता सुनिल पोख्रेल बताउँछन्। सर्लाहीका गोपाल कटवालसँग लिएको ३६ लाख रुपैयाँ नतिर्दा खुस्बुको यात्रा जेलतर्फ सोझिएको हो। ३६ लाखको ५ वर्षको १० प्रतिशत ब्याज जोड्दा खुस्बुले बुझाउनु पर्ने रकम ७२ लाख पुगेको हो। साँवाको दोब्बरभन्दा बढी ब्याज लिन नपाउने नियमका कारण यो रकम ७२ लाखमै सीमित भएको हो।

अदालतले ३६ लाख रुपैयाँ साँवा र ब्याज भराउने फैसला २०७६ जेठ ७ मा गरेको थियो। अदालतको फैसलाअनुसार खुस्बुुले सजाय भुक्तान गरेकी छैनन्। उनको चलअचल सम्पत्ति पनि भेटिएन।
पटक–पटक धोखा खाएका सर्लाहीका गोपाल उनलाई कानुनी दायरामा ल्याएरै छाड्ने अठोटमा लागिरहे। बिगो असुलउपर हुन नसकेपछि अझै गुमाउन पनि तयार भए। जेल बस्दा दुई वर्षसम्म पाउने सिदा खर्च अदालतमा दाखिला गरे र बिगो वापत कैदको माग गर्दै फेरि निवेदन दिए।

बिगो भराउने फैसला कार्यन्वयनका लागि पनि गोपालले पटक–पटक ताकेता गरे। २०७६ जेठ ७ को फैसला कार्यन्वयनका लागि १६ जेठमा निवेदन दिए।

khusbu oli 2

फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५(७)बमोजिम बिगो नतिरे वादीले नै सिदा खर्च दाखिला गरेर त्यसवापत बढीमा दुई वर्षसम्म थुनामा राख्न पाइने व्यवस्था छ। यही व्यवस्थाअनुसार अदालतले खुस्बुलाई २ वर्ष जेल पठाउने फैसला गरेको हो।

‘अब बिगो वापतको रकम दाखिला गरेर खुस्बुले अदालतमा निवेदन दिन सक्छिन्’, अधिवक्ता पोख्रेल भन्छन्, ‘त्यो अवस्थामा अदालतले बिगो भराएर उनलाई जेल नपठाउने निर्णय गर्न सक्छ।’ अदालतले यस्तो फैसला गरे पनि उनले ३ महिना जेल जीवन भने बिताउनै पर्छ।

उनीविरुद्ध पक्राउपूर्जी जारी भइसकेको छ। खुस्बुलाई फेला पार्न नसकेको भन्दै २०७६ साउन १३ गते उनको स्थायी ठेगाना झापा सुरुङ्गा नगरपालिका वडा कार्यालयमा सूचना टाँसियो। अदालतले फेरि खुस्बुको घरमै पुनः म्याद जारीको सूचना टाँस्यो। त्यसपछि पनि खुस्बुले कुनै प्रतिक्रिया जनाइनन्।

अन्ततः गोपालले २०७६ पुष २८ गते बिगो वापत कैदमा राखिपाऊँ भन्दै निवेदन दिएपछि पैसा नतिरे जेल जानुपर्ने अवस्था आएको हो। फैसला कार्यन्वयन निर्देशनालयले २०७६ पुष २८ गते जेथाको अभावमा बिगो भराउन सक्ने अवस्था नभएको भन्दै मुद्दा तामेलिमा राख्न आदेश दिएको छ।

बिगो भराउन नसकेपछि दैनिक ३०० रुपैयाँको दरले बाँकी हुन आएको बिगोलाई कैदमा रुपान्तरण गर्ने व्यवस्था छ। खुस्बुले नतिरेको रकम धेरै भए पनि व्यक्तिको हकमा बढीमा २ वर्षसम्म मात्रै कैद गर्न सकिने कानूनी व्यवस्था छ। पछिल्लो फैसलाअनुसार खुस्बुलाई कैदमा राख्दा लाग्ने सिधा खर्च सरकारले नै व्यहोर्नेछ।

खुस्बुले खोलेकै संस्थाका म्यानेजर हुन् मुद्दा चलाउने गोपाल। उनले गोपालसँग पैसा लिँदा दुई महिनामै फिर्ता गर्छु भनेकी थिइन्। तर आफ्नो पैसा फिर्ता लिने आसमा गोपालले धेरै पटक खाली चेक लिएर फर्किनु पर्यो। खुस्बुले पटक पटक पैसा नभएको खाताको चेक दिएर झुक्या रहिन्।

समाज सेवा समेत गरेकी खुस्बुको यो व्यवहार गोपाललाई अनपेक्षित थियो। झापा, सुरुङ्गाका २० परिवारलाई रिक्सा दिएर खुस्बुले समाजसेवीका रुपमा आफूलाई उभ्याइसकेकी थिइन्।
‘अरुलाई सहयोग गर्ने मान्छेले आफ्नै ऋण नतिर्ला भन्ने सोचिन’, गोपाल भन्छन्।

खुस्बुले सडक बालबालिकाको क्षेत्रमा समेत काम गरेकी थिइन्। आश्रय नेपाल नामक संस्था खोलेर सडक बालबालिकाको क्षेत्रमा काम गरेकी खुस्बुले यही कारण एएफसी ड्रिम अवार्ड समेत प्राप्त गरिन्। १० हजार अमेरिकी डलरसहितको यो अवार्डले खुस्बुको छवि थप उच्च बनाइदिएको थियो।

कुनैबेला कुख्यात गुण्डा नाइके चरीसँग जोडिएकी खुस्बुको असली परिचय विस्तारै सार्वजनिक हुँदैगएको छ। र, कुनै समय समाजबाट पुरस्कृत उनले अन्ततः जेलको बाटो समातेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .