ad ad

समाज


थरुहट बन्दको आंशिक प्रभाव

थरुहट बन्दको आंशिक प्रभाव

गोकुल जोशी
फागुन २०, २०७६ मंगलबार १०:२६,

थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहड्तालको कञ्चनपुरमा आंशिक प्रभाव परेको छ।

सरकारसँग १४ बुँदे माग राख्दै मोर्चाले दुई दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको हो। बन्दको आशिंका प्रभाव देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए।

‘लामो दुरीका सवारी साधन चलिरहेका छन्, छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।’ डीएसपी पौडेलले भने, ‘सुरक्षा व्यवस्था कडा पारिएको छ।’ महेन्द्रनगर, धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ। अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको छ।

सोमवार बेलुका कञ्चनपुरको बेदकोट नगरपालिका सिसैयाबाट आन्दोलनरत पक्षका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मसाल जुलुश निकाल्ने क्रममा सिसैयाका २२ वर्षीय सञ्जय रानालाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए।

 रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .