ad ad

समाज


सबै देशबाट आउनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच

सबै देशबाट आउनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य चेकजाँच

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:२३,

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको  दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ।

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिएको मन्त्रालयले जनाएको छ।

विमानस्थलमा ओर्लिने यात्रुको शारीरिक तापक्रम जाँच गर्न थर्मल स्क्यानर राखिएको छ। थर्मल स्क्यानर प्रयोग गर्दा यात्रुको तापक्रम अटोमेटिक लिन सकिन्छ। वैकल्पिक रुपमा स्वास्थ्यकर्मीले ‘इन्फ्रारेड गन’बाट समेत तापक्रम लिने गरेका छन्। विमानस्थलमा बनाइएको हेल्थ डेस्कमा कर्मचारी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विमानस्थलको जनशशक्ति समेत दोब्बर पारिएको बताए। एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको जानकारी दिए। दक्षिण कोरियाबाट फर्किएका ७ जना नेपाली नागरिकहरुमा सामान्य लक्षण देखिएपछि आइसोलेसनमा राखिएको उनले बताए। २ जना घर फर्किसकेका छन् भने ५ जनाको रिपोर्ट मंगलबार आउनेछ।

वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिले पनि निर्वाध रुपमा आवत जावत गरिरहेको बताए। विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उनको भनाई छ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले नियमित रुपमा साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन्। ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दीर्घरोगीमा रुघाखोकी ज्वरोजस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुर्याउन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .