मेलमिलाप परिषद्को अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल तोकिएकी छन्।
मेलमिलापबाट विवाद समाधान गर्ने कार्यविधिको नियमित सुधार, परिमार्जन, नियमन तथा नियन्त्रण गर्ने मेलमिलाप परिषद्को अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश हुने कानुनी व्यवस्था छ।
यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा परिषद्का अध्यक्ष थिए। उनी ६५ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मल्ललाई तोकेका हुन्।
न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले मेलमिलाप परिषद्को अध्यक्ष तोक्ने व्यवस्था छ।
परिषद्मा कानुन र संघीय मामिला मन्त्रालयका सचिव, नायब महान्यायाधिवक्ता, महासचिव, नेपाल बार एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रमा कार्यरत संघसंस्थाका एक प्रतिनिधि र दुईजना महिला मेलमिलापकर्ता सदस्य हुन्छन्।
मेलमिलाप परिषद्को सदस्यसचिवमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल छन्।
परिषद्ले मेलमिलापद्वारा विवादको निरुपण गर्न प्रोत्साहन हुने विभिन्न कार्यक्रम सञ्चालन, कार्यविधिको सरलीकरण, कानुनमा सुधार, मेलमिलापकर्ता तालिमको पाठ्यक्रम निर्माण, मेलमिलापसम्बन्धी सेवा प्रदान गर्ने संस्थाको संस्थागत क्षमता एवं तालिमको गुणस्तरको अनुगमन र मूल्याङ्कन आदि काम गर्छ।
Shares
प्रतिक्रिया