ad ad

समाज


कञ्चनपुरमा दिनहुँ दुर्घटना, ७ महिनामा १८ को मृत्यु

कञ्चनपुरमा दिनहुँ दुर्घटना, ७ महिनामा १८ को मृत्यु

गोकुल जोशी
फागुन २, २०७६ शुक्रबार ३:५६,

कञ्चनपुरमा दिनहुँजसो दुर्घटना भइरहेका छन्। तीव्र गति, जाँडरक्सी खाएर गाडी चलाउने तथा छाडा चौपाया आदि कारण यहाँको सडक यात्रा असुरक्षित बन्दै गएको छ।

गत माघ ९ गते भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको चम्मन चोकमा से १ क ८८७ नम्बरको टिपरले किचेर आफ्नै बिहेको कार्ड बाँडेर घर फर्किंदै गरेकी गोबरियाकी रमिता भट्ट (रोशनी)को मृत्यु भयो। माघ २३ गते भीमदत्त नगरपालिका–१० बागफाँटामा म २ प ७३५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भीमदत्त नगरपालिका–१९ बागफाँटाकी स्थानीय ८० वर्षीय तुलसीेदेवी चन्दको ज्यान गयो।

तीन दिनमा कञ्चनपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

भीमदत्त नगरपालिका–१९ बागफाँटाको मोटरसाइकल दुर्घटना भएकोे एक हप्ता नबित्दै माघ २८ र २९ फेरि सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाउनुप¥यो । माघ २८ गते मंगलबार शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा से १ क १९१६ नम्बरको जेसिबीको ठक्कर भीमदत्त नगरपालिका ब्रह्मदेवका गणेश वादीको मृत्युभयो भने त्यसै अर्को दिन माघ २९ गते बुधबार कृष्णपुर नगरपालिका–२ वाणीमा से १ त १२७३ नम्बरको ट्रकको ठक्करबाट कैलाली गोदावरी नगरपालिका–१० का मोहन चौधरीको मृत्यु भएको थियो।

फागुन १ गते बिहीबार लालझाँडी गाउँपालिका–५ चानदेवमा लु १ ख ८७१९ नम्बरको बसको ठक्करले म १ प १७६४ नम्बरको मोटरसाइकलका चालक पदम चौधरीलाई मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

सोही दिन यता भीमदत्त नगरपालिका–१० सुकासालमा महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको म १ ह ७५० नम्बरको अटो र विपरित दिशाबाट आइरहेको म १ ह ७५५ नम्बरको अटो एक आपसमा जुध्दा ५ जना घाइते भएको सुकासाल प्रहरी बिटका असइ डम्बर बहादुर चन्द बताउँछन्। उनका अनुसार घाइते म १ ह ७५५ नम्बरको अटोमा सवार यात्रु र चालक गरी ५ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

७ महिनामा १८ जनाको मृत्यु
७ महिनाको अवधिमा भएका ५१ वटा सवारी दुर्घटनाबाट १८ जनाको मृत्यु भयो। ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को ७ महिनाको अवधिमा जिल्लाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको हो।

नियमित चेकजाँच तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेकाले बिगतको तुलनामा सडक दुर्घटनामा घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश केसी दाबी गर्छन्।

उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएका ५१ वटा सवारी दुर्घटनाबाट १८ जनाको मृत्यु, ३८ जना घाइते भएका थिए।

तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने तथा छाडा चौपायाले गर्दा दुर्घटना हुने गरेको छ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार श्रावणमा २ दुर्घटनाबाट १ जना, असोजमा ३ सवारी दुर्घटनाबाट २ जना, कार्तिकमा ६ दुर्घटनाबाट २, मंसिरमा ९ सवारी दुर्घटनाबाट ४ र पुसमा भएका २४ दुर्घटनाबाट ४ जना, माघमा ५ दुर्घटनाबाट ४ जना र फागुनको सुरुवातमा २ दुर्घटनाबाट १ मृत्यु तथा ५ जना घाइते भएका छन । चालु आर्थिक वर्षमा सबैभन्दा बढि (३१ वटा) मोटरसाइल दुर्घटनामा परेका छन्।

ज्यानमारा सडकः झलारी-गुलरिया
पूर्वपश्चिम महेन्द्र राजमार्गको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने क्षेत्र सवारी दुर्घटनाका तवरले ज्यानमारा क्षेत्रको रुपमा छन् । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पहिल्लो समय जिल्लामा भएका सवारी दुर्घटनाहरु सबैभन्दा बढि सो क्षेत्रमा भएका छन्।

तीव्र गति, मापसे सेवन गरेर सवारी साधन चलाउनु, छाडा चौपाय तथा सडकबत्तीको अभावमा सो क्षेत्रमा दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

‘शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्रमा सबैभन्दा बढि दुर्घटना भएको देखिन्छ ।’ प्रहरी निरीक्षक केसीले भने, ‘सो क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि विभिन्न पक्षसंग समन्वय गरेर नयाँ योजनाका साथ अगाडि बढ्दै छौँ ।’ सो क्षेत्रमा पछिल्लो २ दिनमा २ सवारी दुर्घटनाबाट २ जनाले ज्यान गुमाउनु परेको छ।

ठूला सवारी साधनको त्रास
टिप्पर लगायत ठुला सवारी साधनले सडक दुर्घटनाको खतरा बढेको छ। सामान्यतया नदीजन्य पदार्थ (गिट्टी, बालुवा ) ओसारपसारमा प्रयोग हुने टिप्पर, ट्याक्टरको अन्याधिक चापले गर्दा सडक दुर्घटनाको खतरा बढेको छ।

महाकाली नदी लगायत विभिन्न नदीबाट नदीजन्य पदार्थ ओसारपसार गर्नका लागि प्रयोग हुने टिप्पर तथा ट्याक्टरको अत्याधिक चापले गर्दा स्थानीय सर्वसाधारणहरु सडकमा यात्रा गर्न नै डराउँछन्।

‘विद्यालय जाने र आउने बेला स–साना बालबालिकालाई निकै डर छ, स्पीडले धेरै गाडी आउँछन्,’ कृष्णा भट्टले भनिन्। यहाँका सडकखण्डहरुमा चल्ने टिप्पर र ट्याक्टरको त्रासमा स्थानीय सर्वसाधारणहरु यात्रा गर्न बाध्य छन्।

मदनचोक–झोलुङे पुल, बजार क्षेत्र र महेन्द्र राजमार्गमा टिप्पर र ट्याक्टरको अत्याधिक चाप तथा तीव्र गतिमा हाकिने सवारी साधनको त्रासले यात्रुहरु यात्रा गर्न डराउने गरेका छन्।

जनचेतनामूलक कार्यक्रम
सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।

जिल्लाका विभिन्न ठाउँमा चालक, विद्यार्थी, गाडी व्यवसायी लगायतसंग छलफल, अन्तक्रियाका साथै विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरीक्षक केसीले बताए।

पछिल्लो समय दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणलाई एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .