जनवरी १ अर्थात् पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ।
संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यही पुस १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापक रुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वरसिंह भण्डारीले जानकारी दिएका छन्।
स्वतःस्फूर्त रुपमा नेपाली युवाहरुले विगत १० वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आइरहेका छन्।
नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको छ।
नेपाली टोपी प्रतिष्ठान गण्डकीले ढाकाटोपी विशुद्ध नेपाली मौलिक उत्पादन भएको तर्क पनि गरेको छ। नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ, महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ। त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो।
ढाका टोपीको ‘ढाका’ शव्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको उनको भनाइ छ।
Shares
प्रतिक्रिया