ad ad

समाज


उमेशको आग्रह : विदेश नजानुहोस्, त्यहाँ कोही आफ्ना हुँदैनन्

उमेशको आग्रह : विदेश नजानुहोस्, त्यहाँ कोही आफ्ना हुँदैनन्

शैलेन्द्र महतो
माघ १४, २०७६ मंगलबार ८:२४,

साउदी अरेबियामा १४ वर्ष जेल बसाई र मृत्युदण्डबाट उम्केर फर्केका उमेश यादव सोमबार घर आइपुगे। फर्कने आश मारिसकेका परिवार, आफन्त र गाउँले उनलाई प्रत्यक्ष भेट्न पाउँदा निकै हर्षित भए। आफन्त र केही गाउँले उमेश आएको खुसीले भक्कानिए पनि।

गाउँलेले उनलाई बेहुलालाई जस्तै ब्याण्ड र डिजेबाजा लिएर भव्य स्वागत गर्दै गाउँ भित्र्याए।

सोमबार धनुषाको कमला नगरपालिका ३ पर्साका गाउँले र उमेश परिवारमा बेग्लै हर्ष र उमंग थियो। मृत्युबाट उम्केर घर फर्किन सकेकोमा उमेशले आफू पुनर्जन्म पाएको र भाग्यमानी ठानिरहेका छन्। तर, जुन लक्ष्य, उद्देश्य र सपना बोकेर १४ वर्षअघि साहुसँग १ लाख ४० हजार ऋण काढेर उनी विदेश उडेका थिए। त्यो सबै सपना खरानी भएको छ। १४ वर्षपश्चात गाउँ फर्किंदा उनको भागमा परेको ४ कठ्ठा खेत, ५ धुर घडेरी र घर केही बाँकी छैन। उनी गएको १ महिलापछि पाकिस्तानी नागरिकको हत्या आरोपमा जेल परेपछि उनको भागको ४ कठ्ठा जग्गा, घर भएको घडेरी र बुबा आमाले आफ्नो जीउकामा परेका ४ कठ्ठा जग्गा समेत बेचेर साहुको ऋण तिरी दिएका छन्।

यी कुरा सम्झेर उमेश घरि–घरि भक्कानिन्छन्, विक्षिप्त हुन्छन्। उनको पहिलेको घर भएको पाँच धुर घडेरी बेचिएपछि घर उजाडियो। उमेशसँगै पहिलेदेखि बसिरहेका बुबा भोला यादव र आमा कुमैरदेवीको उठिबास भयो। त्यसपछि उमेशकै त्यहीँ छेउमा बाँकी ५ धुर घडेरीमा बुबाआमा सानो झुपडी बनाएर बस्दै आएका छन्।

उमेरले ७० काटिसकेकी आमा कुमैरदेवीले भनिन् ‘छोरा गएपछि एक महिनामै जेल परेको खबर आयो। चर्को ब्याजमा ऋण लिएर गएको पैसाको ताकेता आउन थाल्यो। पछि उसको भागको ४ कठ्ठा जग्गा र घर भएको घडेरी बेच्नुपर्यो। त्यसले पनि पुगेन। अहिले हामी बसिरहेको घडेरी बचाउन मैले आफ्नो जिउकाको ४ कठ्ठा जग्गा बेचेर जसोतसो तिरिदिएँ। यहाँ झुपडी बनाएर बुढाबुढी जसो तसो गुजारा गर्दैछौं।’

उमेश गएकै एक महिनामा घरको अवस्था अस्तव्यस्त भएपछि उनकी श्रीमती सन्जु दुई छोरासहित माइत हिँडेकी थिइन्। उमेश सहिला छोरा हुन्। उनले नै बुबाआमाको सेवा गर्ने जिम्मा पाएका थिए। उनको ऋण तिर्नका बुबाआमाले थप आफ्नो भागमा परेको ‘जिउका’ जग्गा बेचेपछि अन्य तीन छोरा रिसाउँदै आएका छन्। त्यसयता तीन छोराले बुढाबुढीलाई खासै वास्ता नगरेको स्थानीयहरुको भनाइ छ।

‘जीउकाको आधा जग्गा बेचेर उमेशको ऋण तिर्दा अन्य छोरा बुहारीहरु वेवास्ता गर्दै आएका छन्। बुढाबुढी जसोतसो गुजारा गर्दै आएका छौं’ आमा कुमैरदेवीले सुनाइन्।

विदेशमा उमोश जेल परेपछि बुढाबुढीले यता निकै दुःख पाएको स्थानीयहरु बताउँछन्। ‘उमेश विदे गएपछि बुढाबुढी वर्षौसम्म निकै दुःख पाए। जसोतसो मजदुरी गरेर बाँचे’, स्थानीय उर्मिलादेवीले भनिन्, ‘अब छोराबुहारीसँगै बुढाबुढीको राम्रो दिन बितोस्। उमेशको सबै सम्पति ऋणमै गयो। सबैले सहयोग गर्नुपर्छ।’

७५ वर्षका बुबा प्यारालाइसिस रोगले ग्रसित छन्। उनले बाँकी जिन्दगी बुढाबढीले छोराबुहारी र नातिसँगै दुःखसुख गरी बिताउने इच्छा जाहेर गरे।

उमेशले आफूलाई गाउँ सकुशल गाउँ फर्काइ दिएकोमा समाजिक अभियन्ता सरोज राय लगायत सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। विदेश जाँदाको दुःख सम्झिदै उमेशले अब नयाँ जिन्दगी आमाबुबा, श्रीमती र छोराहरुसँग बिताउने बताए। ‘म मृत्युको मुखबाट धेरै दुःख कष्ट सहेर बाँचेर आएँ। अब कहिल्यै विदेश जान्न। बरु नुनरोटी खाएर भए पनि आफ्नै देश, गाउँ घर र घरपरिवारमा बस्छु’, भक्कानिदै उमेशले आँसु पुछ्दै भने, ‘म विदेश जाने सबैलाई आग्रह गर्न चाहन्छु। विदेश नजानुस्। त्यहाँ धेरै दुःख छ। आफ्नो केही छैन। त्यहाँका प्रहरी प्रशासन निकै निर्दयी हुन्छन्। मलाई झुटो मुद्दामा फसाए। केही बोल्न दिएनन्। जब बोल्न खोज्थेँ प्रहरीले यातना दिन्थ्यो। मेरो चित्कार कसैले सुनेनन्। बरु स्वदेशमै केही गरी दुःखसुख बस्नुस्।’

उमेशले आफूसँग केही सम्पति नभएको कारण अब कुनै व्यापार व्यवसाय गर्ने चाहना भएको र त्यसका लागि सहयोग गरिदिन सरकार र सबैसँग आग्रह समेत गरे। ‘मसँग केही सम्पति बाँकी छैन। सबै विदेश गएको ऋणमा बिक्री भइसक्यो। अब कसरी बाँच्ने? मलाई सरकार र समाजले सहयोग गरोस्’, उनले भने, ‘बाँकी जिन्दगी यहीँ कुनै रोजगार गरेर घरपरिवारसँगै बिताउन चाहन्छु।’

उमेशलाई मृत्युदण्डबाट बचाएर ल्याउने समाजिक अभियन्ता सरोजले तत्काल सरकार अथवा चन्दा संकलन गरेरै भए पनि उनलाई १० लाख रुपैयाँ कुनै व्यापार व्यवसाय गर्न सहयोग जुटाइदिने बताए। ‘उमेश सबैको सहयोगमा ब्लडमनी र बाँकी प्रक्रिया पुरा गरी घर आए । तर सम्पति केही छैन। बचाएर मात्र भएन। सुरुमा उनलाई हामीले नै केही गर्ने बाटो बनाइ दिनुपर्छ। उनी विक्षिप्त छन्। के गर्ने, के नगर्ने भन्ने चिन्ताले बेलाबेलामा रुन्छन्। जहाँबाट भए पनि सुरुमा उनलाई केही गर्नका लागि १० लाख रुपैयाँ सहयोग गर्छु’, सरोजले भने।

सन् २००६ मा २५ वर्षको उमेरमा साउदी पुगेका उमेश गएको केही दिनमै काम गर्ने कम्पनीमा कार्यरत पाकिस्तानी नागरिक हत्या आरोपमा जुबेल जेल परेका थिए। जेल बसेका १२ वर्षपछि १५ मे २०१८ मा उनलाई जुबेल अदालतले मृत्युदण्डको सजाय तोकेको थियो। समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता सरोज रायले पहल गरी मृतक परिवारलाई ब्लडमनी तिरेर कागजी प्रक्रिया पूरा गरेपछि जुबेल अदालतले उनलाई आम माफी दिएको हो। आम माफी दिएलगतै उमेश जेलबाट मुक्त भएर स्वदेश फर्केका हुन्।

याे पनि:
१४ वर्षपछि श्रीमती र छोरा भेट्दा भक्कानिए उमेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .