ad ad

समाज


सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल

नेपालखबर
भदौ १६, २०८० शनिबार १८:४४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छिन्।

नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखिन्।

उपप्रमुख डङ्गोलले भनिन्, ‘जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यमबाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रङ्गमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ, रङ्गमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रङ्गमञ्चको विशिष्ट भूमिका हुन्छ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाती एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गरे।

नाट्यकर्मी महासङ्घ नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटकले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई संगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिए।

महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासघ स्थापना गर्न परेको घटना सुनाए।

 चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभइ सिनेमा क्षेत्रसमेत राजनीतिक भागबण्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमलिन हुन पुगेको विचार प्रकट गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .