उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी र श्रमजीवि वर्गको हितमा काम गर्न निर्देशन दिएका छन्।
सर्लाहीको बागमती नगरपालिका ११ मा निर्मित नमूना पहरी बस्तीको शनिबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी, श्रमिक, किसान, दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रका नागरिकको हितमा काम गर्न निर्देशन दिए।
‘जो नागरिक निमुखा छन्, जसको पीडा सुनाउने मान्छे कोही छैनन्, त्यस्ता पहुँच नभएका जनतालाई न्याय दिनेगरी काम गर्न प्रहरी प्रशासनलाई गृह मन्त्रालयले कडा निर्देशन दिइसकेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘प्रहरी प्रशासनले श्रमिक, गरिब र निमुखा जनतालाई पहिलो प्राथमिकतामा राखेर न्याय दिनुपर्छ। त्यसको लागि प्रहरी प्रशासनले आफ्नो कार्यपद्धति र कामको प्राथमिकतामा परिवर्तन गर्नुपर्छ।’
उनले न्यायको लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा पुगेका कुनै पनि निमुखा नागरिक न्यायबाट बञ्चित भए सिकायत गर्न पनि आग्रह गरे।
‘अब न्याय खोज्दा सुनुवाई नहुने अवस्थाको अन्त्य गर्नुपर्छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यस्ता गरिब, निमुखा नागरिकलाई अब हामीले प्रहरी प्रशासन हाम्रो सेवाको निम्ति हो भन्ने विश्वास दिलाउन सक्नुपर्छ।’
उनले मिटरव्याज पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गरे।
मिटर व्याज पीडितलाई न्याय दिलाउन सोमबार जनकपुरमा मधेश प्रदेश स्तरीय मिटर व्याज जाँचबुझ कार्यालयको उद्घाटन गर्न लागिएको जानकारी पनि उनले दिए। गृहमन्त्री श्रेष्ठले सोमबारै मधेश प्रदेशमा क्रियाशील प्रहरी प्रमुखहरुसँग जनकपुर छलफल र अन्तक्रिया गरिने पनि बताए।
मिटरव्याजीको पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका कुनै पनि नेता कार्यकर्ता लागेको पाइए जतिसुकै ठूलो र पहुँचवाला नेता भएपनि कारबाही गरिने चेतावनी गृहमन्त्री श्रेष्ठले दिए।
‘हाम्रै पार्टीका नेता कार्यकर्ता रहेछन् भने पनि पीडक र शोषकको पक्षपोषणमा लागेको पाइए कारबाहीको दायरामा ल्याइने छ,’ मन्त्री श्रेष्ठले भने। उनले सर्लाही जिल्ला मिटरव्याजी विरोधी आन्दोलनको अगुवा जिल्ला भएको बताए।
‘हाम्रै पार्टीका नेताहरु डाचाराज वाग्ले, कमल बुढाथोकी लगायतले सर्वप्रथम सर्लाहीबाटै यो आन्दोलनको अगुवाइ गर्नु भएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘गरिबको पक्षमा भएको मिटरव्याज विरोधी अभियानको नेतृत्व गर्ने नेता वाग्लेको दुई वर्षअघि रहस्यमय सवारी दुर्घटनामा मृत्युसमेत भएको छ। सीआइबीले अझै त्यो रहस्यमय दुर्घटनाको अनुसन्धान गरिरहेको छ।’
पहरी समुदायका १३ परिवारलाई बस्ती हस्तान्तरण
गृहमन्त्री श्रेष्ठले सर्लाहीको बागमती नगरपालिका ११ मा निर्मित पहरी बस्तीको आइतबारै उद्घाटन गरेका छन्। बस्ती उद्घाटनपछि उनले
पहरी समुदायका १३ परिवारलाई घरको चाबी हस्तान्तरण गरे। पहरी लोपोन्मुख जातिमा पर्छ।
बागमती नगरपालिकाले १ करोड ५३ लाख खर्च गरेर १३ पहरी परिवारको लागि बस्ती निर्माण गरिदिएको मेयर भरत थापाले जानकारी दिए। बस्तीमा १३ परिवारका ७० जनाको बसोबास छ।
आवाससँगै अब पहरी समुदायलाई जीविकोपार्जन र पठनपाठनसहित सांस्कृतिक रुपमा उन्नत बनाउन नगरपालिकाको नेतृत्व लाग्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।
‘लोपोन्मुख समुदायको रक्षा गर्नु राज्यको दायित्व हो,’ मन्त्री श्रेष्ठले भने, ‘बागमती नगरपालिकाको नेतृत्वले लोपोन्मुख पहरी समुदायको लागि सुविधायुक्त नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको छ।’
बागमती नगरपालिकाले बागमती नदि आसपास विभिन्न ठाउँमा ससाना झुप्रा बनाएर बस्दै आएका १३ पहरी परिवारलाई तीनवटा बेडरुम, ट्वाइलेट बाथरुम र बरण्डासहितको एक एकवटा घर निर्माण गरिदिएको हो।
नगरपालिकाले दुई वर्ष लगाएर घर निर्माण गरेर पहरी परिवारलाई हस्तान्तरण गरेको बागमती नगरपालिकाका सव इन्जिनियर सुजन बडालले बताए।
बस्तीको साँचो सम्बन्धित परिवारलाई हस्तान्तरणपछि मन्त्री श्रेष्ठले पहरी परिवारसँगै बसेर खाना खाए। उनले पहरी परिवारलाई सँगै राखेर फोटो पनि खिचाए।
Shares
प्रतिक्रिया