ad ad

समाज


दोलखा, रामेछाप र सिन्धुलीमा भूतपूर्व सैनिक सम्मेलन

दोलखा, रामेछाप र सिन्धुलीमा भूतपूर्व सैनिक सम्मेलन

नेपालखबर
चैत २१, २०७९ मंगलबार १९:३९, काठमाडौँ

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज (चैत २१ गते) दोलखा, रामेछाप र सिन्धुली जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ। 

श्री नं.९ बाहिनी अड्‍डा अन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोहस्थल रामेछापको मन्थलीमा प्रधानसेनापति प्रभुराम शर्मा उपस्थित थिए। 

यस्तै, अन्य दुई समारोहस्थल क्रमशः दोलखाको चरिकोट र सिन्धुलीको माझिटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं. २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङको उपस्थिती रहेको थियो। 

सम्मेलनको दौरान मन्थलीबाट दोलखा र सिन्धुलीका समारोहस्थलहरुका सहभागीहरुलाई समेत लाइभ मल्टिकास्टद्वारा प्रधान सेनापतिले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रधान सेनापतिले सैनिक कल्याणकारी कोषमार्फत संचालित कार्यक्रमहरुमा भइरहेको विस्तारका बारेमा जानकारी गराएका थिए।

उनले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधिभित्र रही एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा आ(आफ्नो क्षेत्रबाट समाज विकासको लागि एक भरोसादार व्यक्तिको रुपमा आफूलाई स्थापित गर्न पूर्व सैनिकहरुलाई आह्वान गरे।

सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै सिमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीहरुलाई सुविधा उपलब्ध गराउँदै आइरहेको बताउँदै प्रधान सेनापतिले वेलफेयर मिजन २०३० अनुसार कल्याणकारी सेवा सुविधा विस्तारमा नेपाली सेना कटिवद्ध रहेको बताए।

सोही क्रममा उनले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई नेपाली सेनाले सदैव महत्वका साथ हेर्दै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु सञ्चालन भइरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्‍नशील रहेको बताए।

मूल समारोहस्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षका मानार्थ उप सेनानी कटक बहादुर तामाङ (अवकाशप्राप्त) र स्वर्गीय सिपाही रत्‍न बहादुर खड्का (अवकाशप्राप्त) की श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षकी एकल महिला श्रीमती लिलामाया खड्कालाई सम्मान गरिएको थियो। 

त्यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायीहरु दुई जनालाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो। सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ५ जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त ५ जनालाई व्हिल चेयर तथा वैशाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो। 

यस्तै, चरिकोटस्थित समारोहस्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षका हुद्धा चन्द्र बहादुर कार्की (अवकाशप्राप्त) र स्वर्गीय अमल्दार रङ्गध्वज कार्की (अवकाशप्राप्त) की श्रीमती दोलखा जिल्ला निवासी ९४ वर्षकी एकल महिला श्रीमती मान कुमारी कार्कीलाई सम्मान गरिनुका साथै फरक क्षमता भएका तथा अशक्‍त २ जनालाई व्हिल चेयर तथा वैशाखी वितरण गरिएको थियो।

त्यसैगरी, सिन्धुलीको माझिटारस्थित समारोहस्थलमा फरक क्षमता भएका तथा अशक्‍त ३ जनालाई व्हिल चेयर तथा वैशाखी वितरण गरिएको थियो।

भूपू सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि उपरथी डा सुनिल कुमार सिंह (अवकाशप्राप्त)तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महा सचिव प्रमुख सेनानी श्याम सुन्दर घिमिरे (अवकाशप्राप्त) ले मन्तव्य राख्‍दै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गरे।

उनीहरुले देश र संस्थाको हित हुने कार्यमा समर्पित रहन अवकाश प्राप्त सैनिकहरु तत्पर रहेको बताए। बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्दै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिहरुको पूनरावलोकनका लागि सहयोगी हुने कुरा बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .