संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।
कुन जहाज, कति बजे, कहाँ डिले भयो? भन्नेसम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीले कडा निर्देशन दिएका हुन्।
उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए।
गुच्छा जत्रो उपाय लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो।
सोमबार निगम व्यवस्थापनले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमलाई गौरव गर्नलायक बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न भने।
यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पारे।
‘अब हामीलाई बिजनेस प्लान चाहियो। प्रत्येक दिन यहाँको रिर्पोट हामीलाई मन्त्रालयका चाहिन्छ। कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो? किन भयो? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काटयो? त्यो रिर्पोट हामीलाई चाहिन्छ। हामीले पनि त जवाफ दिनुपर्यो। बेलुका हामीलाई सोध्छन मान्छेले', उनले भने, 'मन्त्रालयबाट फर्किँदा म जहाजको रिर्पोट हेर्छु। म रातिसम्म मन्त्रालयमै हुन्छु। रिर्पोट तपाईंहरुले पठाउने हो, मलाई चाहिन्छ। मन्त्रालयलाई रिर्पोट चाहिन्छ।'
उनले समस्या हात्ती जत्रो तर समाधानको स्रोत झिंगोको टाउको जत्रो भएपछि केही नहुने उनको तर्क थियो।
'समस्या भकुन्डो जत्रो, समाधानको स्रोत गुच्चा जत्रो। अब समाधानको स्रोत तपाईंले भकुण्डो जत्रो देखाउन सक्नुपर्छ बिजनेस प्लानमा। हाम्रो समस्या केही होइन भनेर तपाईंहरुले काम गर्नु पर्छ', उनले भने, 'गम्भीरतासाथ तपाईंहरुलाई भन्छु। जुत्ता फटाउने कोसिस कसैले नगर्नु। कृपया जुत्ता फटाउने कोसिस नगर्नु। तपाईंहरुले काम, कार्ययोजना र कार्यक्रम लिएर साँच्चै गौरवको विषय बनाउनु पर्यो।'
उनले अबको एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न पनि भने। 'यतीले सक्छ, सीताले सक्छ, बुद्ध एयरले सक्छ। यसले किन सक्दैन। सकिँदैन भने राजीनामा दिएर गए हुन्छ,’ उनले भने।
मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने बताए।
‘भोजपुरको मेरो गाउँमा जहाज आउँदा म खुशी हुन्थेँ। छोडेर जाँदा रुन्थेँ। यही जहाज हो। मेरो आमालाई पनि म रुवाउँथे। हप्तामा एक दिन आउँथ्यो होला त्यता जहाज। म त जहाज र गाडी भएको ठाउँमा हुर्किएको मान्छे। यो जहाजले कुनै बेला मलाई रुवाउँथ्यो', उनले भने, 'मैले भन्थेँ–जाऊँ हाम्रो हङकङ, जाऊँ हाम्रो ब्रुनाई। त्यतै जन्मेको, त्यही हुर्केको हुनाले। त्यसपछि म सांसद भएर आएँ। दोस्रो पटक आउँदा म यही मन्त्रालयसँग सम्बन्धित परराष्ट्र र यो नागरिक उडड्यानसँग सम्बन्धित समितिमा काम गर्ने मौका पाए। यो निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ।'
Shares
प्रतिक्रिया