एकै पटक काठमाडौँका १० स्थानमा छापा मारेर नेपाल प्रहरीले १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गर्यो। यति धेरै विदेशी एकै पटक पक्राउ परेको यो पहिलो घटना हो।
एक दिनपछि मंगलबार चीनको विदेश मन्त्रालयले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त कारवाहीमा विभिन्न आपराधिक घटनामा संलग्नताको आशंकामा ती चिनियाँलाई पक्रिएको जनायो।
दुई देशको सहकार्यमा भएको यो कारवाहीपछि नेपालमा रहेका चिनियाँमाथि चीन सरकारले निगरानी बढाएको विश्लेषण गरिएको छ।
तर, विदेशमा बसेर चीनमा अपराध गर्ने चिनियाँहरुमाथि चीनले गरेको यो पहिलो कारबाही होइन। पछिल्लो समय अन्य देशमा बसेर अपराधमा संलग्न आफ्ना नागरिकमाथिको कारवाहीलाई चीनले तीव्रता दिएको छ। सम्बन्धित मुलुकको सहयोगमा त्यस्ता व्यक्तिलाई उसले स्वदेश फिर्ता ल्याउने गरेको छ।
गत सेप्टेम्बरमा फिलिपिन्समा एक साताभित्र ६ सय १ जना चिनियाँलाई पक्राउ गरिएको थियो। उनीहरु अनलाइन जुवा, अनलाइन इन्भेस्टमेन्ट स्क्यामसहितका अपराधमा संलग्न रहेको जनाइएको छ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपनिर्देशक तथा चीनसम्बन्धी विज्ञ रुपक सापकोटाले नेपाली भूभाग प्रयोग गरेर चिनियाँहरुले गर्ने संगठित अपराधलाई चीनले गम्भीर रुपले लिन थालेको बताए।
‘नेपालमा चिनियाँ नागरिकले गरेको एटीएम ह्याकिङको घटना र त्यसले उसको छविमा अन्तर्राष्ट्रियस्तरमा पारेको प्रभावपछि नेपाली भूभागमा चिनियाँहरुले गर्ने संगठित अपराधको विषयलाई चीनले गम्भीर रुपमा लिन थालेको छ,’ उनले भने।
भदौ ३ मा नेपालका विभिन्न बैंकहरुको एटीएम प्रणाली ह्याक गरेर पैसा निकाल्ने पाँच चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेली पक्राउ परेका थिए। अहिले उनीहरुलाई उच्च अदालतको आदेशमा पुरपक्षका लागि थुनामा पठाएको छ।
पछिल्लो समय नेपालमा वित्तीय अपराधमा संलग्न चिनियाँ पक्राउ पर्ने क्रम वृद्धि भएको छ। यसअघि पक्राउ परेका धेरैजसो चिनियाँहरु सुन, वन्यजन्तु अंग, प्रतिबन्धित वनस्पतिको ओसारपोसारमा संलग्न भएका हुने गरेको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्।
‘मुद्राको अवैध ओसारपोसारमा संलग्न हुने विदेशीमा पहिले युरोपेली वा भारतीय हुन्थे,’ उनले भने, ‘तर पछिल्लो समयमा चिनियाँहरु बढी देखिन थालेका छन्।’
सोमबार पक्राउ परेकाहरुको अपराधबारे प्रहरीले औपचारिक रुपमा केही भनेको छैन। तर, तिनको अपराध ठूलो हुनसक्ने मल्लको अनुमान छ। ‘कुनै पनि घटनामा बोल्दै नबोल्ने चीनले यसपटक संयुक्त कारवाही हो भनेको छ। पक्कै पनि पक्राउ परेकाहरुले कुनै ठूलो चुनौती दिएका हुनसक्छन्,’ उनले भने।
नेपालमा किन बढ्यो चिनियाँ निगरानी?
तीस वर्षे सेवाका अधिकांश समयमा अनुसन्धानमा संलग्न रहेका मल्लले भारत, अमेरिका र बेलायत जस्ता देशहरुभन्दा चीनसँग नेपालको सहकार्य कमजोर रहेको बताए।
‘पछिल्लो समयमा चिनियाँहरु प्राविधिक रुपमा निकै सशक्त भएकाले तुलनात्मक रुपमा अनुमगन कमजोर रहेको नेपालतर्फ आपराधिक समूह आकर्षित भएको अनुमान गर्न सकिन्छ,’ उनले थपे।
चीनमा सबै इन्टरनेट ट्राफिकको अनुमगन हुने भएकाले चिनियाँहरुले नेपाल मात्रै नभएर अन्य छिमेकी देशमा बसेर आपराधिक गतिविधि गरिरहेको साइबर सेक्युरिटीका विज्ञ विजय लिम्बुले भनाइ छ।
‘चीनमा इन्टरनेटका गेटवे एउटा मात्र छ, त्यसको पूरै अनुमगन हुन्छ। त्यहाँ प्रोनोग्राफी र ग्याम्बलिङ प्रतिबन्धित छ,’ लिम्बुले भने, ‘त्यसैले सो कार्यमा संलग्न चिनियाँहरु छिमेकी देशमा बस्ने गर्छन्।’
यसलाई रोक्न चीनले विदेशस्थित आफ्ना दूतावासमा प्रहरी सम्पर्क अधिकारी राख्ने व्यवस्था गरेको छ। सन् २०१७ मा ३१ देशका दूतावास र महावाणिज्यदूतमा सम्पर्क अधिकारीको रुपमा ६३ प्रहरीलाई पठाइएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। विदेशमा चिनियाँ नागरिकहरुले गर्ने आपराधिक घटना बढेपछि त्यसलाई सम्हाल्न दूतावासमा प्रहरी राख्न थालिएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।
राष्ट्रपति सी चिनफिङ सत्तामा पुगेसँगै वित्तीय अपराधमा संलग्नहरुविरुद्ध फक्स हन्ट नामको अभियान सुरु गरेका थिए।
गत मेमा चीनको राजधानी बेइजिङमा ‘फक्स’ हन्ट नामक फिल्म निर्माणको शुभारम्भ गर्दै चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री मेङ चिङफेङले सन् २०१४ यता अपराधमा संलग्न रहेका ४ हजार ३ सय भन्दा बढीलाई एक सय २० देशबाट चीन ल्याएको बताएका थिए।
प्रतिक्रिया