दाङबाट प्रसारित हुने रेडियो बंगलाचुली ९१ दशमलब ७ मेगाहर्जको कार्यकक्षमा एक समूह प्रवेश गरेर त्यहाँ कार्यरत सञ्चारकर्मीलाई दुर्व्यवहार गरेको, धम्की दिएको तथा कार्यालयमा तोडफोड र आन्तरिक कागजपत्र च्यात्ने काम गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ दाङ शाखाका अनुसार मंसिर १९ गते सोमबार दिउँसो १ः३० बजेतिर एक्कासि प्रवेश गरेका सो समूहले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने, धम्की दिने तथा रेडियोमा तोडफोड र कार्यालयको आन्तरिक कागजपत्र च्यातिदिएको थियो।
‘कुनै पनि बहानामा रेडियोमा प्रवेश गरेर सञ्चारकर्मी र रेडियोमा यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय संविधानविपरीतको काम हो’ महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘सञ्चारकर्मीलाई हतोत्साहित र त्रसित बनाउने यस्ता कार्यले पत्रकारको सुरक्षा खतरा बढेको महासंघको ठहर छ।’
महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गरेको छ।
Shares
प्रतिक्रिया