मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्छ। आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ। पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दै छ।
पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिँदै छ। हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्ने गरेकामा यस वर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।
यो वर्ष राम्रो जोग परेकाले पाँच दिनसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए। उनका अनुसार दुई वर्ष कोभिडका कारण चहलपहल नभएको मेला यो वर्ष भव्य रूपमा सञ्चालन गरिनेछ।
मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन छ। धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ। यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ। मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ।
किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे। बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन्। ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीय बताउँछन्।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न समितिलाई अनुरोध गरिएको तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए। यो वर्ष मेलामा आउने भक्तजनलाई सहज रूपमा मन्दिरसम्म पुग्न यातायातको व्यवस्था र सुरक्षाको प्रबन्ध राम्रो गरिने अध्यक्ष श्रेष्ठले बताए।
नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेको स्थानीय ध्रुवप्रसाद पंगेनी बताउँछन्।
यस वर्ष राम्रो जोग परेकाले एक लाखभन्दा बढी दर्शनार्थी भित्रिने समितिको अनुमान छ। मेलालाई मध्यनजर गर्दै मन्दिरसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको पूर्वाधार व्यवस्थापनका कामहरू भइरहेका छन्।
चौबीस माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने पालिकाले जनाएको छ। परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ। रासस
Shares
प्रतिक्रिया